एक पदका लागि ८०० जना उम्मेदवार, पन्ध्र पृष्ठको मतपत्र, कसरी हाल्ने मत ?

Advertisement

काबुल । आठ सयभन्दा बढी अनुहार छन् उम्मेदवारका । अनि मतपत्र १५ पृष्ठको । तर मत दिने हो एकजनालाई । अब कसरी हाल्ने मत ?

काबुलका मतदाताले आगामी अक्टोबर २० मा हुने निर्वाचनमा यस्तो समस्या झेल्दैछन् । अखबार–आकारको मतपत्र छ र त्यहाँ छापिएका ८०० जना उम्मेदवारको तस्वीरबाट मन परेका उम्मेदवारको खोजी गर्नुपर्नेछ । त्यो पनि एकजना मात्र ।

एकजना उम्मेदवार छान्न यस्तो समस्या झेल्दैछन् अफगानिस्तानका मतदाता । अर्कातर्फ विद्रोहीले मत हाल्न नजान र गएमा आक्रमण गर्ने भनी दिएको धम्की झेल्नु त छँदैछ । तर पनि अफगान नागरिकले तालिवानहरुबाट निरन्तर खतरामा रहेको यस शहरमा मतपत्रमा आफ्ना उम्मेदवार छनौट गर्न निकै मिहिनेत गर्नुपर्नेछ ।

अक्टोबर २० मा अफगानिस्तानमा संसद्को तल्लो सदनको निर्वाचन हुँदैछ । सो निर्वाचनमा करीब दुई हजार ५०० जनाले उम्मेदवारी दिएका छन् । ढिलागरी आह्वान गरिएको अफगानिस्तानको संसद्को तल्लो सदन वोलेसी जिर्घामा प्रतिनिधित्वको निर्वाचनका लागि ठूलो सङ्ख्यामा उम्मेदवारी दिइएको छ ।

ठूलो सङ्ख्यामा उम्मेदवारी दिएकाले यति काबुलका मतदाताका लागि भने अप्ठेरो परेको छ । यहाँका मतदाताले एकजनालाई मात्र मत हाल्नुपर्नेछ तर मतपत्रमा उम्मेदवारको सङ्ख्या भने ८०० जना रहेको छ ।

उनीहरुलाई १५ पृष्ठको सो मतपत्रबाट छानेर एकजनालाई मात्र मत दिन गाह्रो हुनसक्ने समाचारमा जनाइएको छ । काबुलबाट प्राप्त समाचारमा भनिएको छ त्यो मतपत्र एउटा ट्याबलोइड अखबारको आकारमा छ ।

यो मतदान प्रक्रिया बढी नै जटिल हुने देखिएको छ । जसका कारण उम्मेदवारहरुले मतदाताहरुलाई आफ्नो पहिचान दिन नम्बर याद गराएर प्रचार प्रसार गर्ने गरेका छन् । प्रचारका क्रममा उम्मेदवारहरुले मतपत्रमा आफ्नो तस्वीर कति पेजमा छ र कस्तो छ भनेर मात्र चिनाउने गरेका बताइन्छ ।

साथै उनीहरुले मतपत्रमा छापिएको आफ्नो तस्वीर पनि टेलिभिजन र पत्रिकामार्फत प्रचार गर्ने गरेका छन् । प्रचार सामग्रीमा उम्मेदवारहरुले ‘यो तस्वीर यति पेजमा छ हेर्नुहोला’ भनेर आफ्नो तस्वीर चिनाउने गरेका छन् । तर यस निर्वाचनमा पनि पहिलेजस्तै तालिवान र इस्लामिक स्टेटले कारवाही गर्ने जनाएका छन् । उनीहरुले मतदान केन्द्रमा पनि हमला गरिरहेका छन् । उनीहरुले मतदान गर्न नजान सर्वसधारण नागरिकलाई भनिरहेका छन् ।

Advertisement

Advertisement

Advertisement