सहकारीबाटै समृद्धि संभव रहेको प्रधानमन्त्रीको भनाई

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सहकारीको बाटोमार्फत देशलाई समृद्ध पार्न सकिने जिकिर गरेका छन् । एमाले नेता केशव बडालको जीवनीमा आधारित ‘इमानको इन्द्रेनी’ पुस्तक विमोचन गर्दै ओलीले यस्तो बताएका हुन । बडाल राष्ट्रिय सहकारी संघका अध्यक्ष पनि हुन ।

कुल ग्राहस्थ उत्पादनमा सहकारी क्षेत्रको योगदान करिव दुई प्रतिशत मात्रै रहेको अनुमान छ । विशेषगरी शहरी क्षेत्रका सहकारीहरुमा वित्तीय सुशासन र पारदर्शीता देखिन सकेको छैन भने कतिपय सहकारीले निक्षेपकर्ताको रकम हिनामिना गरेका उदाहरणहरु बारम्बार आउने गरेका छन् । ग्रामीण क्षेत्रमा भने सहकारीहरुले स्थानीय अर्थतन्त्र चलायमान सहयोग सहयोग गर्दै आएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारको तीनखम्बे अर्थनीतिअन्तर्गत सार्वजनिक, निजी तथा सहकारीको अवधारणा अघि सारेको उल्लेख गर्दै सानो पूँजीलाई एकत्रित गरी आर्थिक समृद्धिका लागि सहकारीको भूमिका अतुलनीय रहेको औँल्याए ।

कृषिलाई आधुनिकीकरणका लागि समेत सहकारीको माध्यमबाटै जानुपर्नेमा जोड दिँदै उनले जमीन खण्डित भइरहेको प्रति चिन्ता व्यक्त गरे । ओलीले भने, “बडाल सहकारीका पण्डित हुनुहुन्छ, सहकारी आन्दोलनमा उहाँले पुर्याएको योगदान महत्वपूर्ण छ । उहाँसँग थुप्रै अनुभव छ । त्यसलाई राष्ट्रियकरण गर्नुपर्छ ।”

उनले पार्टीको छलफलमा समेत बडालले सहकारीका एजेण्डा ल्याउने गरेको स्मरण गर्दै प्रकाशित पुस्तक बडालको सम्मान र स्विकारोक्ति हो भने ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजनीतिक इमान्दारिताको खडेरी परिरहेका बेला आएको कृति ‘इमानको इन्द्रनी’ले राजनीतिक इमान्दारिताको पात्र खडा गरेर पुनः बहसमा ल्याइदिएको बताए ।

यसैबीच यस वर्षबाट केशव बडाल सहकारी पत्रकारिता सम्मान वितरण शुरु गरिएको छ । अन्तर्राष्ट्रिय सहकारी महासङ्घकी सञ्चालक ओमदेवी मल्लद्वारा स्थापित रु एक लाख एक हजार राशिको कोषमार्फत यस वर्षबाट पत्रकारिता सम्मान प्रदान गर्न थालिएको हो ।

सहकारीको क्षेत्रमा पत्रकारितामार्फत गरेको योगदानको कदर गर्दै हरेक वर्ष उक्त सम्मान वितरण गरिने जनाइएको छ ।

यस पटक पहिलो सम्मान नेपाल सहकारी पत्रकार समाजका संस्थापक अध्यक्ष यादव हुमागाईंलाई प्रदान गरिएको छ । प्रधानमन्त्री ओलीले उनलाई सम्मान प्रदान गरे ।

Advertisement

Advertisement

Advertisement