व्यावसाय करको पाँच प्रतिशत उद्योग वाणिज्य महासंघले पाउने

Advertisement

चितवन । चितवन उद्योग वाणिज्य महासंघले भरतपुर महानगरपालिका क्षेत्रबाट सङ्कलन भएको कुल व्यावसायिक करको पाँच प्रतिशत रकम पाउने भएको छ । महानगरपालिका र संघबीचमा यसै आर्थिक वर्षबाट लागु हुनेगरी सोसम्बन्धी सम्झौता भएको हो ।

दुई संस्थकोबीचमा भएको सम्झौतामा संघले व्यावसाय दर्ता गर्न उत्प्रेरित गर्ने, नियम तथा मापदण्ड सम्बन्धमा व्यावसायीलाई जानकारी गराउने, बक्यौता कर उठाउनेलगायतका कार्यमा सहयोग गर्नेछ । संघले सो उद्देश्य प्राप्तिका लागि महानगरसँग सहकार्य गरेर विभिन्न कार्यक्रममा सञ्चालन गर्नेछ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार चार वर्षका लागि उद्योग वाणिज्य संघसँग यस्तो सम्झौता गरिएको हो । यसबाट महानगरमा व्यावसायीक कर बढ्ने अनुमान गरिएको छ ।

गत आर्थिक वर्षमा महानगरले व्यावसायीक कर बापत पाँच करोड रुपियाँ संकलन गरेको थियो । चालु आर्थिक वर्षमा १० करोड रुपियाँ संलन गर्ने लक्ष्य राखेको छ । दायरा फराकिलो बनाउँदै लक्ष्यअनुरुप कार उठाउने उद्देश्यसाथ महानगरपालिका अघि बढेको उनले बताइन् ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले नयाँ व्यावसायीलाई करको दायरामा ल्याउन र कर नतिरेका पुराना व्यावसायीलाई कर तिर्न उत्प्रेरित गर्ने खालको कार्यक्रम संघले गर्ने बताए । करबापत आएको रकमबाट सार्वजनिक सरोकारका विकास निर्माण, व्यावसायीक हित र व्यावसायीलाई करको दायरामा ल्याउन खर्च गरिने संघले जनाएको छ ।

महानगरपालिकामा दश हजार हाराहारीमा व्यावसायहरु सञ्चालनमा रहेका छन् । तीमध्ये आधामात्रै करको दायरामा आएको महानगरपालिकाले जनाएको छ । यसअघि नगरपालिका हुँदा २०५७ सालदेखि १० वर्षसम्म उद्योग वाणिज्य संघलाई उठेको कारको १५ प्रतिशत दिने गरी सम्झौता भएको थियो । तर २०६७ साल यता सम्झौता नविकरण हुन सकेको थिएन । जनप्रतिनिधि आएपछि पुनः सम्झौता भएको हो । महानगरपालिकाले चालु आर्थिक वर्षमा व्यावसाय करसहित आन्तरिक आम्दानी बापत ५५ करोड रुपियाँ उठाएको थियो । गत वर्ष सो रकम ३० करोड रुपियाँ रहेको थियो ।

Advertisement

Advertisement

Advertisement