संवैधानिक राजतन्त्र र हिन्दुराज्य फेरि फर्किनसक्ने एक काँग्रेस नेताको भनाई

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता दिपक खड्काले जनताले चाहे भने हिन्दूराज्य र संवैधानिक राजतन्त्रको विषयमा पनि छलफल हुनसक्ने र यसमा छलफल गर्न आफ्नो पार्टी पनि बाध्य हुने स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लवमा आइतबार उनले आफूहरुलाई प्रतिपक्षमा बस्नको लागि जनताले भनेको कुरालाई सहर्ष स्वीकार गरेको सुनाउँदै खड्काले भने, ‘जनताको सुख, सुविधाको विषयलाई र हामीले निर्माण गरेको संविधानलाई कार्यान्वयन गर्ने विषयलाई नेपाली कांग्रेसले जहिल्यै पनि सरकारलाई सहयोग गर्छ र गरिरहन्छ भन्ने कुरा हाम्रो उद्धघोष हो । आज पनि नेपाली कांग्रेस त्यो उद्धघोषभन्दा पछाडि छैन् ।’

उनले अत्यन्तै बलियो सरकार भनेर ओली नेतृत्वको सरकारलाई भन्दै गर्दा सरकारसँग आशा हुने बताए । खड्काले थपे, ‘नेपाली कांग्रेसले यो सरकारलाई स्वागत गर्छ । र, आशा पनि गर्छ । किनकी बलियो सरकार नेपाली कांग्रेसको पनि चाहना हो । संसदीय व्यवस्थाभित्रको विजयमा यस्तो बलियो सरकार भैरहँदा तमाम जनताका आशा हुन्छन् । ईच्छा हुन्छन् । अब हाम्रो मुलुक समृद्ध बन्नसक्छ । र, हामीले चाहेजस्तो मुलुक बनाउन सक्छौं भन्ने जनताको जुन आशा हो, त्यो आशामाथि तुषारापात हुन सुरु गरेको छ । सरकारमै दुई तिहाई बल पुर्याएर राखेका साथीहरुलाई समेट्न सकेको छैन, यो सरकारले ।’

हत्या, हिंसा, बलात्कारमा सरकारको हात छ भन्ने कुरा पछिल्लो समय प्रष्ट हुन थालेको पनि उनले गम्भीर आरोप लगाए । खड्काले भने, ‘बास्तवमा प्रधानमन्त्री आँफै भनिरहनुभएको छ की सरकार कसले चलाइरहेको छ भनेर ? अब यति निरीह, यत्रो दमदार, जनताको म्याण्डेट पाएको दुई तिहाई बहुमत भएको सरकारका प्रधानमन्त्री यति निरीह हुन हुन्छ ? आश्चर्य लागेको छ । त्यसो भएको कारणले सरकारलाई पनि म शुभकामना दिन चाहन्छु की सरकार यसबाट मुक्त होस् । यो बडा दशैंको उपलक्ष्यमा माँ दुर्गा भवानीले हामी सबैलाई खासगरी सरकारलाई पनि बल प्रदान गरुन् । यो मेरो शुभकामना छ । कम्तिमा बलात्कारमा, हत्या, हिंसामा, भ्रष्टाचारमा, आतंकमा सरकारको हात छ भन्ने कुरा सुन्न नपाईयोस् ।’

उनले संविधान संशोधनको विषय चलिरहेकोले संशोधन गर्नुपर्ने जति सबै कुराहरु संशोधन गर्न सरकारलाई सुझाव दिए । खड्काले भने, ‘ंसंविधान बनाउँदै गर्दा म पनि त्यसको सदस्य थिएँ । जनताले आज गाउँमा प्रश्न गर्न थालेका छन् । तपाईहरुले हिन्दू राष्ट्र र राजतन्त्रको विषयमा किन सोध्नुभएन भनेर ? अब यसको छलफल पनि हुन जरुरी छ । जनताले यसबारे आफ्नो अभिमत प्रकट गर्न पाउनुपर्छ भन्ने विषय अब चर्चाको विषय बन्न सक्छ । त्यसकारण सरकार यस विषयमा पनि सजग रहोस् । र, छलफल गरोस् । पार्टीहरुलाई मिलाएर मुलुकको हित हुनेगरि हामीले सरकार सञ्चालन गर्दा कसको लागि गर्दछौं ? दुई चार जना नेताहरुको लागि होइन, अथवा दुई चार जना कार्यकर्ताहरुको लागि होईन । समग्र नेपाली जनताको लागि यो सरकार काम गर्छ र गर्दैछौं भन्ने कुरा महशुस गर्नेगरि काम गर्न सकोस् ।’

नेता खड्काले जनताले चाहेको बेला जुनसुकै विषय पनि उठान हुनसक्ने बताए । उनले भने, ‘जनता सर्वोपरि भनेर हामीहरुले मानिसकेपछि, जनताले चाहेको बखत, यदि जनताले बहुमतमा त्यो कुरा उठान गर्न चाहन्छन् भने यस विषयमा सोच्न राजनीतिक दलहरु बाध्य हुनेछन् । संवैधानिक राजतन्त्रको विषयमा पनि छलफल नहोला भनेर म भन्न सक्दिन् । तर, जनताले चाहे भने जुनसुकै विषय पनि छलफल हुन्छ । हिजोपनि जनताले चाहेर संविधान निर्माण भएको हो । जनताका आकांक्षाहरुमा केही कुराहरु छुटेका छन् भने अझ समावेश गर्नुपर्छ । हिन्दूराष्ट्र र संवैधानिक राजतन्त्रको विषय मैले गाउँघरमा सुनेको हुँदा जनता यतातिर जानुको कारण हाम्रो कमजोरीले हो, या हिजो संविधानमा यो विषय छलफलको विषय नबनाईएको कारणले हो । म गाउँघरतिर घुम्दा पाएको छु की जनताले यो विषयमा छलफल गर्न चाहन्छन् ।’

यद्यपी उनले यस विषयमा कांग्रेसले निर्णय गरेको विषय नभएको स्पष्ट पारे । उनले थपे, ‘यो कांग्रेसले निर्णय गरेको विषय होईन् । मैले खाली जनताहरुसँग सम्वाद गर्दाखेरि पाएको व्यक्तिगत कुरा भनेर बुझ्दा राम्रो हुन्छ । जनताको विपक्षमा न कांग्रेस, न कम्युनिष्ट कोही पनि जान सक्दैन् । त्यसकारण जनताको चाहनाको विकास यतातिर भएको छ भन्ने कुरा मलाई लागिरहेको छ ।’

Advertisement

Advertisement

Advertisement