सर्पदंशका कारण मृत्यु भएका बालकको परिवारलाई राहत

Advertisement

 

भरतपुर । सर्पदंशको उपचार नपाएर मृत्यु भएका बालक सलिन विकका परिवारलाई राहत उपलब्ध गराइएको छ ।

भरतपुर महानगरपालिका–१५ मङ्गलपुरका तीन वर्षीय विकका परिवारलाई प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतको रोहोवरमा नेपाल चिकित्सक सङ्घ चितवनले आर्थिक सङ्कलन गरेर जम्मा गरेको रु चार लाख राहत सहयोग स्वरुप उपलब्ध गराएको हो ।

सङ्घका जिल्ला अध्यक्ष डा प्रकाश खतिवडाका अनुसार विकको परिवारको आर्थिक अवस्था कमजोर देखेर चिकित्सक र कर्मचारीले आर्थिक सङ्कलन गरेर सो रकम राहत स्वरुप उपलब्ध गराइएको हो । गत भदौ २१ गते सर्पले डसेर विकलाई भरतपुर अस्पतालमा पुर्याइएको थियो ।

अस्पतालले बाल सघन उपचार कक्ष खाली नभएको भन्दै अन्य अस्पतालमा पठाएको थियो । पाँचवटा अस्पताल चाहारेर उपचार नपाएपछि पुनः भरतपुर अस्पताल पुर्याएपछि बालकको मृत्यु भएको थियो ।

सो घटनाको छानबिन गर्न जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजय झाको संयोजकत्वमा छानबिन तथा सुझाव समिति गठन गरेको थियो । सो समितिले पीडित परिवारलाई राहत दिन र दोषीलाई कारवाही गर्न सिफारिस गरेको थियो । अस्पतालले सो प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा पठाएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement