‘गरिव जनतालाई रेलको सपना देखाएर काम छैन, दैनिक जीविकोपार्जन सजिलो पारिदेउ’

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता नारायण खड्काले प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकार असफलतातर्फ उन्मुख रहेको आरोप लगाएका छन् ।

बिहीबार रिपोर्टर्स क्लबमा उनले भने, ‘स्वयम नेकपाकै शीर्ष नेताहरुले सरकारको आलोचना गरिरहनुभएको छ । सात महिनाको यो छोटो कार्यकालको संकेत हेर्दा हामीले अनुमान गर्न सक्छौं । अहिले धेरै ठूलो दबाब र उकुसमुकुसका साथ नेकपाकै नेताहरुले पनि सरकार असफलतातर्फ उन्मुख छ भनेर भन्नुभएको छ ।’

खड्काले थपे, ‘केही दिन अगाडि, व्यवस्थापिका संसदको अन्तिम बैठकको दिन नेकपाकै बरिष्ठ नेता माधवजीले पनि जहाज डुब्नै लाग्यो कोही आएर बचाइदेउन भनेर गीत गाउनुभयो । मलाई लाग्छ त्यो उहाँले बोल्नैपर्ने भएर होला बाध्य भएर बोल्नुभएको हो । हिजो अस्तीमात्रै पनि म मिडियामा सुन्दैछु की पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता झलनाथजीले पनि सरकार असफल भयो भन्नुभएको छ । प्रचण्डजीको पनि बोली सकारात्मक छैन् । सरकारको कामकारबाहीबारे नेकपाभित्रै व्यापक असन्तुष्टि छ ।’

उनले यो सात महिनाको कार्यकालको समिक्षा हेर्दा वर्तमान सरकार असफलतातर्फ उन्मुख रहेको संकेतहरु देखा परेको स्पष्ट पारे । खड्काले भने, ‘तर, म व्यक्तिगत रुपमा सरकारको सफलताको कामना गर्दछु । म असफल होस भन्न चाहँदिन् ।’

ठूलो–ठूलो कुरा गरेर गरिब, निमुखा जनतालाई आशामा अल्झाउन नहुने उनको तर्क छ । खड्काले भने, ‘कहिले रेल आउला भनेर गरिब जनतालाई कुनै मतलब छैन् । यसले उनीहरुलाई आकर्षण गर्दैन् । दैनिक जिविकाको बारेमा मात्रै जनतालाई ध्यान छ । तर, सरकारले महँगी, भ्रष्टाचारलगायतमा खोई त अनुगमन गरेको ?’

नेता खड्काले बहुसंख्यक जनता सरकारको प्रस्तुतिबाट निराशातर्फ उन्मुख रहेका पनि बताए । उनले भने, ‘बलात्कारपछि निर्मला पन्तको हत्या भयो । प्रधानमन्त्रीले निर्मलाको हत्यारा पत्ता लगाउन १२ वर्ष लाग्नसक्छ भन्नुभयो । यस्तो गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति प्रधानमन्त्रीजस्तो व्यक्तिले दिने हो ?’

यद्यपी खड्काले सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध भने सुधार गरेको बताए । उनले भने, ‘हेर्नुहोस्, विपीले पनि अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्नुभएको थियो । उहाँको सरकार पनि दुई तिहाई बहुमतको थियो । १८ महिनामै सरकार ढल्यो । कहीँ ओलीजीको पनि नियती त्यस्तै नहोस् । अब भाषणबाजी गरेर देश चल्दैन् । जनताले डेलिभरी खोजेका छन् । मुल्यवृद्धि नियन्त्रण गर्नुपर्छ ।’

सरकारले पाँच वर्षसम्म राम्रो काम गरोस् भन्ने आफूहरुको चाहना भएको खड्काको भनाई थियो । फरक प्रसँगमा उनले बुढीगण्डकी गेजुवालाई दिनु गलत भएको भन्दै विरोध जनाए । खड्काले भने, ‘कुनै तयारी नै नगरी किन दिइयो ? हचुवाको भरमा निर्णय गर्नुहुँदैन् ।’ उनले वाइड बडी जहाज खरिद प्रकरणमा पनि ठूलो भ्रष्टाचार भएको कुरा सुन्नमा आएको बताए ।

सरकारले आफूहरुसँग संवाद गर्न छोडेको भन्दै नेता खड्का उनले भने, ‘प्रधानमन्त्री भारत, चीन र संयुक्तराष्ट्र जानुभयो । राष्ट्रसंघ जानुअघि डाइलग गरेको भए हुन्थ्यो । अमेरिकाबाट कोष्टारिका पनि जानुभयो । १८ देखि २० करोड खर्च भयो । तर, भ्रमण दलमा प्रतिपक्षी दलका सांसदहरुलाई समावेश गर्नुभएन् ।’

दुई तिहाईको बहुमत भएरमात्रै नहुने बताउँदै उनले सरकारले राजनीतिक, धार्मिक, आर्थिक र विदेश नीतिलाई सन्तुलनमा राख्न सक्नपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement