नवलपरासीमा बस दुर्घटना, छ जनाको मृत्यु, ४१ गम्भीर घाइते

Advertisement

नवलपरासी । मध्यविन्दु नगरपालिका ११ मा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु हुनुका साथै ४१ जना गम्भीर घाइते भएका छन् । सुनसरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४५४ नम्बरको बस आइतबार बिहान करिब साढे पाँच बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ११ मा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार पाँच यात्रुको घटनास्थलमै मृत्यु भएको र एकजनाको चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुने ६ मध्ये पाँच जनाको पहिचान भएको छ।

जसमा मोरङ सुन्दरहरैया १२ का ११ वर्षीय सुहन कार्की, सुनसरी घर भर्इ जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीमा कार्यरत ३२ वर्षीय अब्दुल अन्सारी, भोजपुर हतुवागढी गाउँपालिकाका २७ वर्षीय रामजित राई, गुल्मी हस्तचौर गाउँपालिका २ घर भई मोरङ लेटाङमा नेपाली सेनामा कार्यरत ३५ वर्षीय तीलक विष्ट र भारत बिहार श्रीनगरका विधानन्द यादव रहेका छन् ।

एक जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । गम्भीर घाइते ४१ जनाको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । सडकबाट अनियन्त्रित भएर २० मिटर तल खसेको बसमा सामान्य घाइते भएका केहीको स्थानीय मेडिकलमा उपचार भइराखेको जनाइएको छ । बसमा करिव ६० जना सवार रहेको प्रहरीको अनुमान छ ।

Advertisement

Advertisement

Advertisement