चीनले बनायो ५५ किमी लामो विशाल पुल, स्वतन्त्र हङकङको आन्दोलनलाई खुम्च्याउने मुख्य उद्देश्य

जुहाई, चीन । चीनका राष्ट्रपति सि चिनफिङले विश्वको सवभन्दा लामो ‘मेगा ब्रिज’ को मङ्गलबार औपचारिक उद्घाटन गरेका छन् । यस सामुद्रिक पुलले हङकङ, मकाउ र चीन जोड्ने भएको छ ।

चीनका ती स्वशासित क्षेत्रहरुसँगको सम्बन्धलाई चीनले पछिल्लो समयमा कडा गरिरहेका बेला चीनले यो पुल निर्माण गरेको छ ।
समुद्रमाथि निर्मित यो पुल ५५ किलोमिटर लामो छ । चीनका राष्ट्रपति चिनफिङले मङ्गलबार सो पुल उद्घाटन गरे ।

nic-asia

उद्घाटन समारोहमा मकाउ र हङ्कङका उच्चस्तरीय नेताहरुको पनि उपस्थिति रहेको बताइएको छ । एक वाक्यांशमा उद्घाटन सम्बोधन गरेका राष्ट्रपति चिनफिङले भने– मैले हङकङ, जुहाई र मकाउ पुल औपरिक रुपमा खुल्ला गरेको छु ।

उनको यो घोषणासँगै उक्त पुल औपचारिक रुपमा खुला भएको छ । अर्बौं डलरको लगानीमा बनाइएको यस पुल सार्वजनिक रुपमा खुल्ला भएपछि हङ्कङ, चीन र मकाउबीचको व्यापारमा बृद्धि हुने तथा यात्रा सहज हुने अनुमान गरिएको छ ।

चीनका उपप्रधानमन्त्री हान जेङले यस पुलको निर्माण विकासको एक भाग भएको बताएका छन् । यस मेगा ब्रिजले हङ्कङ र मकाउ शहरसँग दक्षिणी चीनका नौ ओटा शहरलाई आर्थिक लगायतका सञ्जालसँग जोड्ने जेङले बताए ।

तर विश्लेषकहरु भन्छन्– यो पुल हङकङलाई चीनमा एकीकृत गर्ने थप एउटा बाटो हो र यसले हङकङको स्वतन्त्रताको अभियानलाई थप खुम्च्याउन सक्छ ।

चीनद्धारा निर्मित हङ्कङ र चीनको मुख्य भूमि जोड्ने यो दोस्रो परियोजना हो । यसअघि गत महिना चीनले हङ्कङलाई जोड्ने दू्रत गतिको रेल निर्माण गरी सञ्चालनमा आएको थियो ।