पौडेलको तर्क– अहिले नै सरकार असफल भयो भन्न मिल्दैन, तीन बर्ष कुर्नुपर्छ

Advertisement

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले अब बस्ने स्थायी समिति बैठकमा वर्तमान मन्त्रीहरुको कार्यशैली र मन्त्रीहरु परिवर्तन गर्नेबारे व्यापक छलफल हुने बताएका छन् ।

रिपोर्टर्स क्लवमा मंगलबार उनले भने, ‘प्रधानमन्त्रीले अब टिम परिवर्तन गर्नुपर्छ । अब बस्ने स्थायी समिति बैठकमा प्रधानमन्त्रीको टिम परिवर्तन हुन्छ । तर, प्रधानमन्त्री परिवर्तन हुँदैन् ।’ पौडेलले थपे, ‘सरकारको काममा प्रभावकारिता भएन् । अब योभन्दा अझै प्रभावकारिता हुनुपर्छ । अब बस्ने स्थायी समिति बैठकमा जनताले हामीसँग राखेका गुनासा र टिप्पणीहरु जस्ताको त्यस्तै राख्छौं । अब दशैंलगत्तै वातावरण तात्छ । सरकारले अब आफ्ना गतिविधिहरु बढाउँछ । सरकारले अब काम थाल्नुपर्छ ।’

यद्यपी उनले मान्छे फेरेर काममा प्रभावकारिता नआउने पनि स्पष्ट पारे । पौडेलले भने, ‘अनुभवी टिम आवश्यक पर्यो भने मन्त्रिमण्डल पूनर्गठन हुन्छ । तर, अहिले प्रधानमन्त्री फेरिने सम्भावना छैन् । आवश्यक पर्यो भने मन्त्रीहरुको जिम्मेवारी अदलीबदली हुन्छ ।’

नेता पौडेलले मन्त्रीहरुले सुशासनलगायतका काममा तत्काल परिणाम देखाउनुपर्ने भएपनि त्यो देखाउन नसकेको गुनासो पोखे । उनले भने, ‘सुशासन कायम गर्न त सकिन्छ नि, केले रोकेको छ ? मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै सुशासनलगायतका कामहरु कायम गरेर देखाउन सकिन्छ ।’

पौडेलले वर्तमान सरकार सफल वा असफल, पास वा फेल भनेर भन्ने बेला अहिले नै भइनसकेको पनि जिकिर गरे । उनले भने, ‘अहिले नै वर्तमान सरकारको बारेमा पास वा फेल भनेर टिक लगाउने र इन्टु लगाउने बेला भएको छैन् । सरकारको बारेमा समिक्षा गर्न कम्तिमा पनि तीन वर्ष कुर्नुपर्छ । आलोचना गर्ने बेला भएको छैन् । तर, अहिले सरकारका बारेमा भइरहेका आलोचनाहरु मननयोग्य छन् । हामी अब समीक्षा गर्छौं । यसको मतलव यो होईन की, हिजो चकाचक थियो, यो सरकार आएपछि सबै बर्वाद भयो भन्ने अवस्था अहिले छैन् । कामहरु अब विस्तारै अघि बढ्छन् ।’

वर्तमान सरकार संविधान कार्यान्वयन गर्ने कुरामा पूर्ण प्रतिबद्ध रहेको पनि उनले सुनाए । पौडेलले भने, ‘हामी संविधान कार्यान्वयन गराउन पूर्ण प्रतिबद्ध छौं । हामी दृढतापूर्वक संविधानको पक्षमा छौं ।’ सरकारको प्रभावकारिताबारे उठेका प्रश्नहरुबारे पार्टीले गम्भीर समीक्षा गर्ने बताउँदै उनले रेल, पानीजहाज, ठूला ठूला बाटाघाटाहरु भन्ने कुरा १२० दिनमै बन्न नसक्ने बताए ।

पौडेलले भने, ‘हामीले चमत्कार नै गर्छौं भनेका छैनौं । काठमाडौं हुँदै लुम्बिनीसम्म रेल पुर्याउँछौं, र बिरगञ्जहुँदै काठमाडौंसम्म पनि रेल ल्याउँछौं भनेका छौं । यो कार्यान्वयन गर्न केही समय लाग्छ ।’

पछिल्लो समय जनताका गुनासाहरु एकपछि अर्को बढ्दै गइरहेकोले सरकार र पार्टी दुवै यस विषयमा अलिक बढि नै गम्भीर बन्नुपर्ने र त्यही अनुसारको समीक्षा गर्नुपर्ने उनको धारणा छ ।

Advertisement

Advertisement

Advertisement