काठमाडौं । नेपाल उड्डयन प्राधिकरणले सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थलको क्षमता विस्तार गर्ने भएको छ । प्राधिकरणले विमानस्थलको टर्मिनल भवन र रनवेको क्षमता वृद्धि गर्ने भएको हो ।
प्राधिकरणले पाँच सय २७ मिटर लम्बाई र २० मिटर चौडाई रहेको धावनमार्गको लम्बाई २० मिटरदेखि ३० मिटरसम्म बढाउने योजना बनाएको छ । त्यस्तै प्राधिकरणले हेलिकोप्टर पार्किङ कम भएको भन्दै हेलिप्याडको क्षमतापनि वृद्धि गर्ने विमानस्थलका प्रमुख येगेन्द्र कुँवरले जनाकारी दिए ।
उनका अनुसार नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गरी विमानस्थलको समग्र क्षमता वृद्धि गर्न लागिएको हो । विमानस्थलको टर्मिनल भवनमा चार सयको संख्यामा यात्रु अट्नेगरी क्षमता वृद्धि गर्न लागिएको छ । पर्यटकलाई लक्षित गर्दै टर्मिनल भवन भित्रै बेकरी शप, रेष्टुरेन्टलगायतका सुविधा राखिने उनले जानकारी दिए । विमानस्थलको क्षमता वृद्धिसम्बन्धि सम्पूर्ण काम दुई वर्षभित्र सकिने उनले बताए ।
उनका अनुुसार दुई वर्ष भित्र नयाँ हेलिप्याड निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइनेछ । विमानस्थलमा हाल फिक्स विङ र रोटरविङगरी एक सय ३० वटा उडान भइरहेको छ । पर्यटकको हाइ सिजनमा दैनिक चालिस वटा जहाजले उडान भर्दै आएको उनले जानकारी दिए ।
हाल रोटर विङ्स अन्तर्गत एयर डाइनेस्टीको छ वटा, प्रभुको चार वटा, मनाङको दुई वटा कैलाशको दुई वटा, हेलि एयरको दुई वटा, अल्टिच्युड एयरको एउटा र श्री एयरको चारवटा हेलिकोप्टरले उडान भर्दै आएको छ । यसैगरी तारा, सीता, समिट र नेपाल वायु सेवालगायतको गरी दैनिक काठमाडौं–लुक्ला ४० वटा उडान हुँदै आएको उनले जानकारी दिए ।
पहिला विमानस्थलमा आवश्यक उपकरण र स्रोतसाधनको कमी थियो । अहिले वयुमण्डल, हावाको गति, सेन्सरलगायत ‘डिजिटल मेट्रोलोजिकल डिस्प्ले’ राखिएको उनि बताउँछन् । विमानस्थलमा हालै जडान गरिएको र्याडरमार्फत नेपालभित्र मात्र नभइ वरपर उडिरहेका विमानको अवस्थाबारे सजिलै जानकारी लि सकिएको उनले बताए ।