घर नबनाउनेलाई रकम फिर्ता गर्न प्राधिकरणको ताकेता

Advertisement

पर्वत । विनाशकारी भूकम्पले क्षति पुगेको भन्दै लाभग्राहीको सूचीमा परेर पनि पहिलो किस्ता रकम लगेर घर नबनाएकालाई रकम फिर्ता लिन ताकेता गरिएको छ । अहिलेसम्म पनि घर बनाउन शुरु नगरेका र घर बनाउन नचाहेकालाई पहिलो किस्ताबापत लगेको रकम फिर्ता गर्न ताकेता गरिएको हो ।

भूकम्पबाट पूर्ण क्षति पुगेका जिल्लाका पाँच हजार २६९ घरमध्ये हालसम्म एक हजार चार सय घर मात्र निर्माण भएका छन् । घर निर्माण गरिसकेका एक हजार चार सय लाभग्राहीले अहिलेसम्म दोस्रो किस्ताको रकम समेत बुझिसकेका छन् ।

पहिलो किस्ताको रकम लगेका तीन हजार चार सय नौ जनाले अहिले पनि घर निर्माण गरेका छैनन् । पूर्ण क्षतिमा परेका लाभग्राहीमध्ये हालसम्म चार हजार आठ सय नौ जनाले पहिलो किस्ताबापतको रकम ५० हजार रुपियाँ बुझिसकेका छन् भने चार सय ६० जनाले पहिलो किस्ताको रकम समेत बुझेका छैैनन् । लाभग्राहीलाई पहिलो किस्ताबापतको रकम २४ करोड चार लाख ५० हजार रुपियाँ भुक्तानी गरिसकिएको छ भने दोस्रो किस्ताबापतको २१ करोड रुपियाँ घर बनाएकाले भुक्तानी लगिसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ पर्वतले जनाएको छ ।

पर्वतमा तेस्रो किस्ताको रकम भने अझैसम्म कसैले पनि माग गरेका छैनन् । घर सम्पन्न भइसकेपछि पाउने तेस्रो किस्ता लिनका लागि कसैको पनि माग नआएको आयोजना कार्यान्वयन इकाई प्रमुख जगदीश शर्माले जानकारी दिए । उनले जिल्लामा तेस्रो किस्ताको रकमका लागि माग भई आएमा तत्काल दिन सकिने अवस्था रहेको छ ।

उनले भने, ‘घर बनाउन नचाहानेका लागि सार्वजनिक सूचना जारी गरेरै रकम फिर्ता गर्न ताकेता गरेका छौं।’ आगामी वैशाख सम्म रकम फिर्ता नगर्नेका लागि सरकारी बाँकी सरह असुल उपर गर्ने शर्माले जानकारी दिनुभयो । उनले भने, ‘अहिलेसम्मको पुनःनिर्माणको अवस्था हेर्दा पर्वतमा वास्तविक पीडित झण्डै दुई हजार मात्रै भएको अनुमान गर्न सकिन्छ ।’

घर सम्पन्न भएको प्राविधिकको सिफारिसको आधारमा स्थानीय तहले निवेदन दिएमा तेस्रो किस्ताको रकम भुक्तानी गर्ने प्रावधान रहेको छ । त्यसैगरी पर्वतमा चार हजार दुई सय जनाले गुनासो फारम भरेका थिए । तीमध्ये भण्डै दुई हजार आठ सय जनाको अनुदानका लागि कार्यालयले सिफारिस गरेको पनि शर्माले जानकारी दिए ।

भूकम्पका कारण यसअघि नै आंशिक क्षतिमा परेका चार सय १७ जनामध्ये एक सय २० जनासँग अनुदान सम्झौता भइसकेको छ । आंशिक क्षतिमा परेका दुई सय ९७ जना भने सम्झौताका लागि समेत आइनपुगेको कार्यालयले जनाएको छ । आंशिक क्षतिमा परेकाले दुई किस्तामा गरी एक लाख रुपियँ पाउनेछन् । शुरुमा ५० हजार र घर मर्मत गरिसकेपछि ५० हजार रुपियाँ भुक्तानी पाउने व्यवस्था रहेको छ ।

Advertisement

Advertisement

Advertisement