दुई दर्जन केवलकार निर्माणका लागि खर्बभन्दा बढी लगानी हुँदै

Advertisement

काठमाडौं । मनकामना केवलकार निर्माण भएको झण्डै दुई दशकपछि मुलुकमा दुई दर्जन केवलकार थपिने भएको छ । मनकामना केवलकार र चन्द्रागिरि केवलकार जनप्रिय भएपछि अन्य धार्मिकस्थलहरुमा पनि केवलकार निर्माण कार्य अघि बढेको हो ।

दोलखा कालिन्चोक मन्दिरका लागि स्थापना भएको कालिन्चोक केवलकार निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा आउने तयारीमा रहेको छ । प्युठानको घण्टीखोलादेखि स्वर्गद्वारी मन्दिरसम्म केवलकार निर्माणका लागि स्वर्गद्वारी दर्शनले निर्माण कार्य सुरु गरिसकेको छ । त्यस्तै बन्दीपुरमा केवलकार सञ्चालनका लागि लगानी जुटाउन थालिएको छ ।

ललितपुरमा पनि केवलकार निर्माणका लाग अध्ययन थालिएको छ । गोदावरीदेखि फुलचोकीसम्म केवलकार निर्माणका लागि सिद्धेश्वर पर्यटन सहकारी र युवा जागरण पर्यावरणीय मञ्चले अध्ययन गरिरहेको छ । त्यसैगरी मनकामना दर्शनले कास्कीको पुम्दी भम्दीमा एक किमी लामो केबरकार निर्माणका लागि अध्ययन गरिरहेको छ । सोलुखुम्बुको लुक्लामा पनि केवलकार निर्माणका लागि सगरमाथा रोपवेले अध्ययन गरिरहेको छ ।

अर्को धार्मिकस्थल देवघाटदेखि मौलाकालिकासम्म केवलकार निर्माणका लागि मौलाकालिका डेभलपमेन्टले अध्ययनको माग गरेको छ । दिव्य दर्शनले मुक्तिनाथ मन्दिर, स्वर्गद्वारी र पाथीभरामा पनि केवलकार निर्माण गर्ने योजना बनाएको छ ।

डोटीको ठूलाकेदार, नुवाकोटको घ्याङफेदी गोसाइँकुण्ड केवलकार, इलाम पाथिभरा दर्शनका लागि पनि केवलकार निर्माण प्रक्रिया सुरु गरिएको छ । लुक्लादेखि नाम्चेबजारसम्म केवलकार र रोपवे दुवै सेवा दिनेगरी अध्ययन भइरहेको छ ।

त्यसैगरि काठमाडौंको बोहोराटार–नागार्जुन डाँडा जामाचोमा पनि केवलकार निर्माणका लागि अध्ययनको माग गरिएको छ । भक्तपुरको सुर्यविनायकमा लिक सेवा र बुढानीलकण्ठदेखि शिवपुरी डाँडासम्म केवलकार बनाउन त्रिवेणी केवलकारले अध्ययन अनुमति माग गरेको छ ।

मुक्तिनाथ दर्शन प्रालिले ४० अर्बभन्दा बढी रुपैयाँ लगानी गरेर मुक्तिनाथको मन्दिरसम्म केवलकार निर्माण गर्ने भएको छ । मुक्तिनाथ दर्शन प्रालिले पोखराको विरेठाँटीदेखि कागबेनी हुँदै रानीपौवा मुक्तिनाथ मन्दिरसम्म ८५ किलोमिटर लामो केबलकार निर्माणका लागि अध्ययन शुरु गरेको हो ।
हिन्दु तथा बौद्ध धर्मालम्वीको आस्थाको केन्द्र मुक्तिनाथमा वर्षेनी आन्तरिक तथा बाह्य धार्मिक पर्यटक बढ्न थालेपछि तिर्थयात्रीको सहजताको लागि केवलकार निर्माण गर्न लागिएको कम्पनीले अध्यक्ष अरुण कुमारकुमार सुवेदीले बताए ।
निर्माण कार्यमा विघ्नवाधा नआए अबको ५ वर्षमा मुक्तिनाथको दर्शन केवलकार चढेर सहजै गर्न सकिन्छ’, उनले भने ‘अर्को आर्थिक वर्षको फागुनसम्म विस्तृत परियोजना प्रतिवेदन तयार हुने गरी कार्य अघि बढाएका छौं । केवलकार निर्माणका लागि लगानी बोर्ड र मुक्तिनाथ केवलकार दर्शन प्रालिबीच समझदारीपत्रमा यस अघि नै हस्ताक्षर भइसकेको छ ।
८३ दशमलव ६५ किलोमिटर लम्बाइ रहने केवलकारमा ६ वटा स्टेशन रहनेछन् । पहिलो शुरुवाती स्टेशन पोखराको विरेठाँटीमा हुनेछ । त्यसपछि घोरेपानी, तातोपानी, लेते, मार्फा, कागबेनी र मुक्तिनाथ स्टेशन रहनेछ । करिब डेढ दशकपछि सार्वजनिक निजी साझेदारी अवधारणामा हालसम्मकै लामो केवलकार निर्माण गर्न लागिएको हो ।

Advertisement

Advertisement

Advertisement