नेपाल र कतारबीच फुटबल विकासमा सहकार्य गरिने

Advertisement

काठमाडौं । फुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ । कतार भ्रमणमा रहेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशन (क्युएफए)बीच फुटबलको विकासमा सहयोग गर्नेसम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको छ ।

सम्झौता आगामी पाँच वर्षसम्मका लागि भएको एन्फाले जनाएको छ । दुवै राष्ट्रको फुटबल विकासका लागि एन्फा र क्युएफएको मुख्यालय दोहामा एन्फाका अध्यक्ष शेर्पा र क्युएफएका अध्यक्ष हमाद बिन खालिफा बिन अहमेद अलतानीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतानुसार दुई राष्ट्रबीचको विभिन्न विषयका लागि व्यवस्थापन टोली, प्राविधिक टोली, प्रशिक्षक, रेफ्री र खेलाडीको आदानप्रदान हुनेछ । त्यसैगरी फुटबलको अध्ययन, अनुसन्धान, महिला फुटबल, युवा फुटबल, फुटसललगायत १७ कार्यमा दुई मुलुकबीच सहकार्य हुने सम्झौतामा उल्लेख छ ।

कतार सन् २०२२ को विश्वकप आयोजक राष्ट्रसमेत हो । हाल कतारले विश्वकपका लागि फुटबल मैदान धमाधाम निर्माण गरिरहेको छ । सम्झौताका लागि एन्फा अध्यक्ष शेर्पा र लिग कमिटीका संयोजक विज्ञानराज शर्मा हाल दोहामा छन् । यसअघि एन्फाले जापान फुटबल एशोसिएशन (जेएफए)सँग सहकार्य गर्न सम्झौता गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement