ऐतिहासिक सिन्धुलीगढीको विकास गर्न गैरआवासीय नेपाली संघले बनायो गुरुयोजना

Advertisement

काठमाडौं । विगतमा गैरआवासीय नेपाली संघ र कमलामाई नगरपालिकाबीच सिन्धुलीगढी जिर्णोद्वार एवं पुनर्निर्माण गुरुयोजना तयार पार्ने सम्बन्धमा भएको सहमति अनुसार तयार पारिएको गुरुयोजना बुधबार संघका अध्यक्ष भवन भट्टले एक समारोहबीच नगरपालिकाका मेयर खड्गबहादुरा खत्रीलाई हस्तान्तरण गरे ।

गुरुयोजना सबै सम्बन्धित पक्षसँग छलफल गरी तयार पारिएको जनाउँदै संघले यसको स्वामित्व स्थानीय सरकारले लिने सहमति भएको जानकारी दिएको छ । हाल जिर्ण अवस्थामा रहेको सिन्धुलीगढीको ऐतिहासिक महत्व उजागर गर्ने गरी उक्त गढीका संरचनाहरु पुनर्स्थापना गर्ने उद्देश्यले गुरु योजना तयार पारिएको छ ।

गुरुयोजनामा सिन्धुली गढीको ऐतिहासिकता र मौलिकतालाई यथावत राख्ने गरी संरचनाहरु निर्माण गर्ने उल्लेख छ । गुरुयोजना तयार पार्ने क्रममा परामर्शदाता चयन गरी यस कार्यमा लाग्ने खर्चको व्यवस्थापन गरिएको थियो । गुरुयोजना आर्की टाइप र कार्ड कन्स्ल्ट्याण्टको संयुक्त टोलीले तयार पारेको संघले जनाएको छ ।

कमलामाईका नगर प्रमुखले गुरुयोजना तयार पार्न सहयोग गरेकोमा संघप्रति आभार प्रकट गर्दै भविष्यमा कमलामाई नगरपालिका र गैरआवासीय नेपाली संघ मिलेर काम गर्नुपर्ने बताए ।

यसरी नै सिन्धुलीका सहभागी प्रतिनिधिहरुले सिन्धुगढीलाई नेपालको नमूना पर्यटकीय क्षेत्रको रुपमा विकासका लागि सहयोग गर्न अपिल गरे । संघका अध्यक्ष भवन भट्टले सिन्धुलीगढीलाई एक पर्यटकीय स्थलको रुपमा विकासका लागि सहयोग गर्न संघ सदैव तत्पर रहेको बताए ।

Advertisement

Advertisement

Advertisement