गोठाटारको भद्राकाली आयलले इन्धन बिक्रीमा उपभोक्तालाई ठग्ने गरेको खुलासा, दुई लाख जरिवाना

Advertisement

भक्तपुर। सरकारले तोकिएभन्दा कम परिमाणमा उपभोक्तालाई इन्धन बिक्री वितरण गर्नेगरेको भन्दै गोठाटारस्थित भद्रकाली आयल स्टोरलाई कारवाही गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले बुधबारगरेको अनुगमनका क्रममा सो आयल स्टोरले प्रतिलिटरमा २५ देखि ३५ एमएल इन्धन ठगी गरेको पाइएपछि कार्यस्थलमै दुई लाख रुपियाँ जरिवाना गरेको हो । पम्पलाई एक हप्ताभित्र रकम बुझाउन निर्देशन दिँदै नोजल सुधार नगरेसम्मका लागि कारोबार पनि रोक्का गरिएको छ ।

विभागका महानिर्देशक योगेन्द्र गौचनका अनुसार अनुगमन टोलीले भद्रकालीको इन्धन भर्ने ‘नोजल’बाट तीनवटा नमूना सङ्कलन गरिएको, तीनै पटकको नमूनामा फरक/फरक नतीजा पाइएको र तीन वटा नमूनाको परीक्षण गर्दा प्रतिलिटरमा २५, ३० र ३५ एमएल ठगी गर्ने गरेको देखिएको हो ।

प्रतिलिटरमा १० देखि १५ एमएलसम्म तलमाथि भए स्वीकार गर्न सकिने भए पनि उच्च परिमाणमा ठगी गर्ने गरेको देखिएकोले कारवाही गरिएको विभागले जनाएको छ । उपभोक्ता संरक्षण ऐनअनुसार वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिणाम, मूल्य, नापतौल, ढाँचा वा बनावट आदी ढाँटी, लुकाई, छिपाई वा झुक्याई त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गर्नेलाई निरीक्षण अधिकृतले तत्कालै दुईदेखि तीन लाखसम्म जरिवाना गर्न सक्छ ।

Advertisement

Advertisement

Advertisement