आयल निगमको कार्यकारी निर्देशक हुन मुकेश काफ्लेदेखि डा. सरोज कोइरालासम्म १७ जना इच्छुक

Advertisement

काठमाडौं । सरकारी स्वामित्वको नेपाल आयल निगमको कार्यकारी निर्देशक बन्न १७ जनाले इच्छा देखाएका छन् । बाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धाका लागि प्रस्ताव आह्वान गरेकोमा १७ जनाको प्रस्ताव परेको हो ।

दशैंअघि नै उनीहरुले आआफ्नो प्रस्ताव दर्ता गरेकोमा दशैं र तिहारको बीचमा अन्तिम पाँच जनाको सुची तयार गर्ने तयारी भइरहेको छ । मन्त्रालयका प्रवक्ता नवराज ढकालका अनुसार कार्यकारी निर्देशकहरुको छनोट प्रक्रिया ढिलो नगरी अघि बढाइँदैछ ।

आवेदन गर्ने १७ जनामा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्ले, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)मा नेपालबाट पहिलो पटक विद्यावारिधि गर्ने डा. सरोज कोइराला, नेपाल खाद्य संस्थानका पूर्वमहाप्रवन्धक शिवहरि श्रेष्ठ, उदयपुर सिमेन्ट उद्योगका पूर्वमहाप्रवन्धक सुरेन्द्र पौडेल, निगमकै कर्मचारी प्रलङकर आचार्य छन् ।

त्यस्तै, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक रामप्रसाद घिताल, सिक्टा सिंचाई आयोजनाका बहालवाला प्रमुख रमेश बस्नेत, अनिल झा, तारक थापा, अनन्त घिमिरे, शिवराम यादव, गोविन्द खरेल, मंगललाल श्रेष्ठ, गोवद्र्धन खड्का छन् ।

अनियमितता प्रकरणमा मुछिएका कारण तत्कालिन कार्यकारी निर्देशक गोपाल खड्काले पदबाट राजीनामा दिएपछि रित्त रहेको निगमको कार्यकारी प्रमुखको पदमा पूर्वएमाले एवं प्रधानमन्त्री केपी ओलीनिकट मानिएका सुरेन्द्र पौडेललाई धेरैले प्रवल दावेदारका रुपमा हेरेका छन् ।

अर्को पक्षले भने बाणिज्य तथा आपूर्ति मन्त्रालय पूर्वमाओवादी केन्द्रको पक्षमा परेकोले पौडेल नभई पुष्पकमल दाहाल प्रचण्डले चाहेको व्यक्ति नै आयल निगमको प्रमुख नियुक्ति हुने दावी गर्दै आएको छ । अन्तिम पाँच जनामा पर्नेहरुले आफ्नो योजनासहित छनोट समितिमा प्रस्तुति गर्नुपर्नेछ ।

पाँच जनामध्येबाट नियुक्तिका लागि तीन जनाको नाम मन्त्रिपरिषदमा पुग्ने छ । मन्त्रालयले प्रकाशित गरेको सुचनाअनुसार मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र वा बाणिज्यशास्त्र र व्यवस्थापन वा इन्जिनियरिङ विषयमा स्नाकोत्तर तह उत्रिण गरेको वा व्यवस्थापनमा स्नातक तह उत्रिण गरी चार्टर्ड एकाउन्टेन्टको शैक्षिक उपाधि हासिल गरेको र सम्वन्धित क्षेत्रको व्यवस्थापकीय तथा अधिकृतस्तरमा कम्तिमा पाँच बर्ष कार्यअनुभव हासिल गरेको हुनुपर्ने, ३० बर्ष उमेर पूरा भई ६५ बर्ष ननाघेको हुनुपर्ने छ ।

Advertisement

Advertisement

Advertisement