साफ यू–१५ मा नेपालको सानदार जित, माल्दिभ्स ४–० ले पराजित

Advertisement

काठमाडौं । साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । काठमाडौंमा जारी दोस्रो संस्करणको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गर्दै सानदार सुरुवात गरेको हो ।

ललितपुरको एन्फा टेक्निकल सेन्टरमा शुक्रबार भएको खेलमा नेपाललाई जित दिलाउन जान लिम्बु, नामेश थापामगर, शशांक बोहोरा र दिपेश राई ले एक–एक गोल गरेका थिए । प्रतियोगिताको २८ औं मिनेटमा पेनाल्टीबाट अग्रता लिएको नेपालले पहिलो हाफमा दुई गोल गरेको थिवयो ।

माल्दिभ्सका डिफेन्डरले ‘डि बक्स’भित्र नेपाली खेलाडीलाई फल गरेपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै जान लिम्बुले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । खेलको ३५ औं मिनेटमा नामस थापामगरले पेनाल्टी एरियाबाट गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफ २–० मा सकिएको थियो ।

दोस्रो हाफमा उच्च मनोबलका साथ मैदान उत्रिएको नेपाली टोलिले दुई गोल गर्यो । दोस्रो हाफमा शशांक बोहोरा र दिपेश राईले गोल गोल गरेपछि नेपाल ४–०को अग्रता लिन सफल भयो ।

खेलको ६८ औं मिनेटमा नेपालका लागि दिपेश राईले गोल गरेपछि दुबै तर्फबाट कुनै गोल हुन सकेन ।

यसअघि भएको उद्घाटन खेलमा पाकिस्तानले भारतलाई २–१ गोल ले हरायो । कात्तिक १८ गतेसम्म चल्ने खेलमा छ देशको सहभागिता रहेको छ । नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालसँगै समूह ‘ए’मा बंगलादेश र माल्दिभ्स पनि रहेका छन् । अब नेपालले समूह चरणको अन्तिम खेल कात्तिक १२ गते बंगलादेशसँग खेल्ने छ । यसबाट समूह विजेताको टुंगो लाग्ने छ ।

त्यस्तै प्रतियोगिताको समूह ‘बी’ मा भारत, भुटान र पाकिस्तान रहेका छन् । कात्तिक १० गते पाकिस्तान र भुटान तथा माल्दिभ्स र बंगलादेशबीचको खेल हुने छ । हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

साफ यू–१५ मा च्याम्पियन हुने टोलीले एएफसी यू–१६ छनोट खेल्ने अवसर पाउने छ । नेपाल गत संस्करणको उपविजेता हो । नेपालमै भएको गत संस्करणमा नेपाल भारतसँग पराजित भएको थियो ।

Advertisement

Advertisement

Advertisement