थानकोट–नागढुंगा सुरुङमार्ग निर्माण गर्न छ कम्पनीहरु इच्छुक

Advertisement

काठमाडौं । सुरुङमार्ग जापानी सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋणको प्रतिवद्धता जनाएको थानकोट–नागढुंगा सुरुङमार्ग निर्माणका लागि छ वटा विदेशी कम्पनीहरुले इच्छा देखाएका छन् । जसमा पाँच चिनियाँ र एक जापानी कम्पनी छन् ।

अन्नपूर्ण पोष्ट डटकममा प्रकाशित समाचारअनुसार सडक विभागले गत साउत २४ गते जारी गरेको ६० दिने सुचनामा कुनै पनि कम्पनीको आवेदन नपरेकोमा थप गरिएको १५ दिनको समयमा छ वटा कम्पनीले इच्छा देखाएका हुन ।

विभागअन्तर्गतको वैदेशिक सहायता कार्यान्वयन महाशाखाका इन्जिनियर छविलाल पौडेलले दिएको जानकारी अनुसार बोलपत्र १५ नेपालीसहित ४२ कम्पनीले खरिद गरेकोमा छ वटाले दर्ता गरेका हुन । जटिल निर्माण प्रक्रियाका कारण कम कम्पनीको आवेदन परेको उनको भनाई छ ।

थानकोट–नागढुंगा सुरुङमार्ग निर्माणका लागि २२ अर्ब रुपियाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। जसमा जाइकाले १६ अर्ब ४६ करोड ९६ लाख रुपियाँ सहुलियत ऋण दिने छ भने बाँकी सरकारले हाल्नेछ ।

जापानले आगामी ४० वर्षका लागि ०.१ प्रतिशत सहुलियत ब्याजदरमा सुरुङमार्ग बनाउन ऋण दिएको हो। छनोट हुने कम्पनीले ४२ महिनामा सुरुङमार्ग र आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने हुन्छ।

दहचोकदेखि–सिस्ने खोलासम्म सुरुङको लम्बाई दुई दशमलव ६८८ किलोमिटर किलोमिटर र चौडाई नौ दशमलव पाँच मिटर तथा उचाई १८ मिटर हुनेछ। यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट समय बचत गर्ने जनाइएको छ ।

यसले सडकको लम्बाइ आठ किलोमिटर कम हुनेछ भने थानकोटबाट १० मिनेटमा नौविसे पुग्न सकिनेछ।

Advertisement

Advertisement

Advertisement