आधुनिक अलैंची भट्टी नहुँदा किसानलाई समस्या

Advertisement

तेह्रथुम । आठराई गाउँपालिका–४, इवाका किसान महेन्द्रकुमार इङ्नामको परिवारले अलैंचीको खेती गर्न थालेको पुस्तौं बित्यो । अलैंचीखेतीबाटै उनकोे परिवार चलेको छ । मूल्य राम्रो पाएका बखत इङनाम परिवारले राम्रै आर्थिक उन्नतिसमेत गर्यो । उनीसँग अलैंची खेतीमा काम गरेको वर्षौंको अनुभव छ ।

इङनामलाई अलैंची टिप्नुभन्दा सुकाउन झण्झटिलो लाग्ने गरेको छ । अलैंची टिप्न सहज भए पनि सुकाउन आधुनिक प्रविधिको ज्ञान नहुँदा असजिलो भएको हो । गाउँमा किसानले ढुङ्गा र माटोले बनेको परम्परागत भट्टीमा अलैंची सुकाउँछन् । उनले पनि घर नजिकै परम्परागत भट्टी बनाएका छन् ।

परम्परागत भट्टीमा अलैंची राम्रो नसुक्नाका साथै किसानको स्वास्थ्यमा समेत असर पुग्ने गरेको छ । किसानलाई अलैंची आधुनिक भट्टीमा सुकाउनपर्छ भन्ने प्राविधिक ज्ञान छैन । प्राविधिक ज्ञान नभएकै कारण आधुनिक भट्टीको प्रयोग पनि शून्यजस्तै छ । जिल्लाका किसानलाई उद्योग वाणिज्य सङ्घले केही वर्षअघि एक सय वटा आधुनिक भट्टी अनुदानमा उपलब्ध गराए पनि अहिले किसानले ती भट्टी प्रयोगमा ल्याएका छैनन् । किसानले लगेका आधुनिक भट्टी प्रयोगमा नरहेको अलैंची व्यवसायी सङ्घका जिल्ला महासचिव तुलसी ढकालले बताए । ‘किसानलाई आधुनिक भट्टीको प्रयोगबारे ज्ञान छैन, अनुदानमा पाएका भट्टी पनि प्रयोगमा छैनन्’, उनले भने ।

अनुदानमा पाएको भट्टी जडान गर्न पहिलो वर्ष प्राविधिक सहयोग पाए पनि दोस्रो वर्षबाट जडान गर्नै समस्या भएको फेदाप गाउँपालिका–५, इसिवुका किसान वृखबहादुर तामाङले बताए । उनले भने, ‘भट्टी त पाइयो, तर प्राविधिक ज्ञान पाइएन, त्यसैले प्रयोगमा आएन ।’ आधुनिक भट्टीले अलैंचीको गुणस्तरमा सुधार हुने भए पनि त्यसको प्रयोगबारे किसानलाई थाहा नै नभएको उनको भनाइ थियो । ‘परम्परागत भट्टीमा छिटो सुक्छ तर आधुनिक भट्टीमा सुकाउँदा धेरै समय लाग्ने रहेछ’ उनले भने । कतिपय किसानलाई परम्परागत भट्टीको प्रयोग गर्नु अलैंची गुणस्तरको हिसाबले गलत हो भन्ने नै थाहा छैन ।

परम्परागत भट्टीका कारण अलैंची कालो हुने, राम्रो नसुक्ने, डढेर नष्ट हुने, आगलागीको जोखिम हुने, धुवाँ र आगोले मानव स्वास्थ्यमा असर गर्नेजस्ता समस्या किसानले बेहोर्दै आएका छन् । यस वर्ष भट्टीमा सुकाउन थालेको अलैंची आगो दन्किएर सबै जलेर खरानी भएको लालीगुराँस नगरापालिका–८, सोल्माका किसान चन्द्र लिम्बूले बताए ।

‘अलैंची सुकाउन भट्टीमा हालेको थिएँ, खै के मिलेन सबै जलेर खरानी भयो’, उनले भने । काँचो दाउरामा अलैंची सुकाउनु पर्दा आँखा पाक्ने, दम, खोकीजस्ता समस्या बढ्ने गरेको लिम्बूले बताए । आगोको झिल्को उडेर गएर घरमै आगलागी भएका घटना पनि छन् । भट्टी लगाउँदा किसान अत्यन्तै सचेत हुनुपर्छ । नसुकुञ्जेल रात दिन नभनी अलैंची भट्टी रुँघेर बस्नुपर्छ ।

आधुनिक भट्टी प्रयोगमा पहुँच नहुँदा समस्या ब्यहोर्नु परेको किसान लिम्बूले बताए । परम्परागत भट्टीको सबैभन्दा जोखिमको पक्ष भनेकै आगोबाट अलैंची जोगाउनु र धुवाँबाट बच्नुभएको मेन्छ्यायेम गाउँपालिका–३, श्रीजुङका किसान विनय लिम्बूले बताए । ‘हामीलाई आधुनिक भट्टीको ज्ञान छैन, परम्परागत भट्टी प्रयोग गर्दा समस्यै समस्या छन्’, उनले भने । यो वर्ष लिम्बूले एक पटक सुकाउँदा राम्रो नसुकेपछि दुई पटक अलैंची सुकाउनु परेको उनले बताए ।

‘अलैंची बेच्न लिएर त गइयो तर व्यापारीले फिर्ता पठाइदिए फेरि सुकाएर लगेपछि मात्रै विक्री भयो’, किसान लिम्बूले भने । अलैंचीको गुणस्तर वृद्धि गर्न पहल शुरु भए पनि किसानलाई गुणस्तरीय अलैंची उत्पादनका लागि आधुनिक भट्टी प्रयोगबारे प्राविधिक ज्ञान र सीपसहित अनुदानमा आधुनिक भट्टी वितरण गर्नेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने उनले बताए ।

अलैंचीको याममा बगानबाट अलैंची टिपेर छोडाउनु पर्ने र भट्टीमा सुकाएपछि मात्रै बेच्नका लागि तयार हुन्छ । किसानले परम्परागत भट्टीमा सुकाउनुपर्दा १० केजी अलैंची सुक्न करीब १७ घण्टासम्म लाग्ने गरेको छ । काँचो दाउरामा अलैंची सुकाउनुपर्दा समस्या हुने आठराई गाउँपालिका–४, इवाका किसान नरेन्द्र इङनामले बताए ।

‘अलैंची राम्रो सुक्दैन, काँचो दाउराले अलैंची सुकाउँदा आफूलाई उत्तिकै गाह्रो हुन्छ’, उनले भने, ‘पाए त आधुनिक भट्टीमा अलैंची सुकाउन सजिलो हुन्थ्यो नि ।’ परम्परागत भट्टी आफैंले बनाउन सकिने भए पनि आधुनिक भट्टीभन्दा कम खर्चिलो र एक पटक बनाएपछि वर्षौंसम्म प्रयोग गर्न सकिने हुन्छ । आधुनिक भट्टी पनि पटक–पटक प्रयोग गर्न सकिन्छ तर प्रयोग गरेपछि त्यसलाई फुकालेर राख्नुपर्छ । पुनः जडान गर्न प्राविधिक ज्ञान नभएकाले समस्या भएको सम्बद्ध किसानको भनाइ थियो ।

जिल्ला कृषि विकास कार्यालयले वर्षौंदेखि अलैंची खेती प्रविधि र विस्तारका लागि कार्यक्रम सञ्चालन गर्दै आए पनि गुणस्तरीय उत्पादन तथा आधुनिक भट्टीको प्रयोगतर्फ किसानको ध्यान तान्न सकेको छैन । अब स्थानीय सरकारको पहलमा अलैंची खेतीको विकास तथा गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने अलैंची व्यवसायी सङ्घका जिल्ला अध्यक्ष अमृत सुवेदीले बताए ।

तत्कालीन जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्ष जिल्लामा दुई सय २० मेट्रिक टन अर्थात् ४६ करोड २० लाख रुपियाँ बराबरको अलैंची उत्पादन भएको थियो । यस वर्ष पनि मौसम अनुकूल रहेकाले अलैंची उत्पादन बढ्ने आँकलन कृषि प्राविधिकको छ । यो वर्षको अलैंची मूल्य बढ्ने आशाले किसानले अहिले पनि अलैंची थन्क्याएर राखेका छन् ।

Advertisement

Advertisement

Advertisement