भारतीय सीमामा विद्युतीय धरापसहितको काँडेतारको बार

Advertisement

टीकापुर । भारतसँग सीमा जोडिएको कैलालीको टीकापुर नगरपालिकास्थित तेलीगाउँमा काँडेतारसहितको विद्युतीय धराप निर्माण गरिएको छ । टीकापुर नगरपालिकाले बजेट नै विनियोजन गरेर भारतसँगको सीमा क्षेत्रमा विद्युतीय धरापसहितको काँडेतार बार लगाएको हो ।

भारतीय सीमावर्ती जंगलबाट वर्षेनी जंगली जनावर आउने र किसानले लगाएको बालिनाली नष्ट गर्ने तथा मानिसलाई आक्रमण गर्ने क्रम नरोकिएपछि स्थानीय र नगरपालिकाले समस्याको समाधान गर्न उक्त सुरक्षा अपनाएका हुन् । राति आउने जंगली जनावरले उखु, धान, केरा, गहुँलगायत बाली खानुकासाथै नष्ट गर्दा यहाँका स्थानीय आजित भैसकेका थिए ।

भारतले संरक्षणमा राखेको जंगल ‘वनरिया’ बाट विभिन्न जंगली जनावरहरु नेपाल पसेर कृषि उपज नष्ट गर्नुका साथै पानी पिउनका लागि कर्णली नदीसम्म आउने गरेका छन् । त्यस क्रममा जंगली जनावरले यहाँका स्थानीयलाई आक्रमण गर्ने गरेको स्थानीयहरु बताउँछन् ।

प्रायः रातिको समयमा जंगली हात्तीलगायत जनावरले बर्षेनी बालि खाएर नष्ट गर्न थालेपछि विद्युतीय धरापयुक्त काँडेतारको बार लगाउनुपरेको एक स्थानीय अबकर मल्लाहले बताए । गत वर्ष कर्णाली नदीको पुल हुँदै बर्दियाको सीमावर्ती क्षेत्रसम्म झन्डै छ किमी विद्युतीय धराप निर्माण गरेको थियो । विद्युतीय धरापयुक्त काँडेतारको बार लगाएपछि भारतीय जंगली जनावरको आक्रमण हटेको र त्रासपूर्ण जीवन बिताउन नपरेको कर्णाली आधारभूत विद्यालयका शिक्षक शेरबहादुर बुढाले बताए ।

प्रायजसो धानखेती पाक्ने समयमा हात्तीले बाली नष्ट गर्ने गरेको किसानको गुनासो आउन थालेपछि विद्युतीय धरापसहितको काँडेतारको बार लगाइएको टीकापुर नगरपालीका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए ।

त्यस्तै सशस्त्र प्रहरीले कञ्चनपुरको गड्डाचौकी लगायतका सीमानाकामा सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । नाकाबाट तिहारको बेला पटाकालगायत विस्फोटक पदार्थ भित्रिन नदिन कडा सुरक्षा गरिएको हो ।

Advertisement

Advertisement

Advertisement