पीपीएलः पोखराको दोस्रो जित, चितवन पाँच विकेटले पराजित

Advertisement

काठमाडौं । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) को सोमबार भएको खेलमा पोखरा पल्टन विजेता भएको छ । प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा पोखराले चितवन राइनोजलाई पाँच विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले व्याटिङ गरेको चितवनले निर्धारित २० ओभरको खेलमा पाँच विकेटको क्षतिमा एक सय ४० रनको सम्मान जनक स्कोर बनाएको थियो । एक सय ४१ रनको लक्ष्य पछ्याएको पोखराले १७ ओभर दुई बल खेल्दै पाँच विकेटको क्षतिमा लक्ष्य भेटायो ।

सोमबारको खेलमा भएको जितसँगै पोखराले प्रतियोगितामा तीन खेलमध्ये दुई खेलमा जित निकालेको छ । यस्तै पारस खड्काको कप्तानी रहेको चितवनले भने लगातार दोस्रो हार ब्यहोरेको छ ।

पोखरालाई जिताउन व्याट्सम्यान रभिन्दर सिंहले उत्कृष्ट प्रदर्शन गरे । उनले ४८ बलको सामना गर्दै आठ चौका र तीन छक्काको मद्दतले ६५ रनको अर्धशतकीय पारी खेले । यस्तै कप्तान शरद भेषावकले २० बल खेल्दै ३७ रन बनाए । चितवनका करण केसीले पोखराको तीन विकेट लिए पनि टीमलाई जिताउन भने सकेनन् । कप्तानीमा प्रखर मानीने पारस खड्काले आठ जना बलर खेलाएपनि पोखरालई रोक्न सकेनन् ।

यसअघि पहिले व्याटिङ गरेको चितवनका लागि ओपनिङ व्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसकेपछि मध्य क्रमका व्याट्सम्यान पारस खड्का र सन्नी पटेलले महत्वपूर्ण इनिङ्स खेल्दै टीमलाई सम्मानजनक स्कोर बनाउन मद्दत गरे । कप्तान पारस खड्काले ४४ रन बनाउँदा सन्नी पटेलले ४६ रनको अविजीत पारी खेले ।

उत्कृष्ट व्याटिङसँगै चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ४० रनको योगफल खडा गरेपछि पोखराले एक सय ४२ रनको लक्ष्य पाएको थियो । पोखराका लागि विक्रम भुसालले दुई विकेट लिए ।

Advertisement

Advertisement

Advertisement