चिनियाँ कम्पनीले कोदारी राजमार्ग पुनर्निर्माण सुरु गर्यो, सडक पनि चौडा गरिने

Advertisement

मेलम्ची । चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिआरसिसी)ले छिमेकी मुलुक चीन जोड्ने कोदारी राजमार्गको पुनःनिर्माण शुरु गरेको छ । लार्चास्थित सुक्खा बन्दरगाहको पुनःनिर्माण सकेपछि सडक निर्माण शुरु गरेको हो ।

भूकम्पले क्षति पुर्याएको सुक्खा बन्दरगाहको पुनःनिर्माणमा आएको चिनियाँ टोलीले नै सडक मर्मतको काम शुरु गरेको भोटेकोशी गाउँपालिका–२ का अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले बताए ।

दुई वर्षदेखि पुनःनिर्माणमा खटिएको चिनियाँ ठेकेदार ताउ नेतृत्वको टोलीले नेपाली मजदुरलाई काममा लगाइरहेको उनले जानकारी दिए । श्रेष्ठका अनुसार भोटेकोसी बाढीले कटान गरेको ठाउँमा तारजाली भर्न थालिएको छ । चिनियाँ ठेकेदारले नेपाली ठेकेदारको दुई स्काभेटर भाडामा लिएर इको रिसोर्टबाट काम थालेका छन् ।

कच्ची सडक ट्र्याकले मितेरी पुल जोडेपछि बाह्रबिसेको जुरे पहिरोबाट सडक फराकिलो पार्ने योजना छ । तातोपानीसम्म कच्ची सडकले जोडिएको भएपनि बर्खाको पहिरोले दर्जनौँ ठाउँमा क्षति पुर्याएका कारण पुनःनिर्माणविना ठूला सवारी साधन चल्न नसक्ने श्रेष्ठले बताए ।

नेपाल–चीन सीमामा रहेको मितेरी पुल पुनःनिर्माण गर्ने दुवै देशबीच सहमति भइसकेको छ । नेपालतर्फ रहेको लिपिङखोला, लार्चा, खोकुण्डोल, चाकु र बाह्रबिसे खुर्सानीबारीको पुल पनि बाढी–पहिरोले क्षतिग्रस्त बनेको छ ।

नेपाल–चीनका सरकारी अधिकारीले पटक–पटक संयुक्त र एकल रूपमा कोदारी राजमार्गको निरीक्षण गरिसकेका छन् । सडक निर्माणको प्रष्ट खाका र योजना आउन सकेको छैन । चिनियाँ भूमिखासादेखि मितेरी पुलसम्म सडक निर्माण सम्पन्न हुन अझै तीन महिनालाग्ने बताइएको छ ।

Advertisement

Advertisement

Advertisement