आयात र डलर ह्वात्तै बढ्दा सोधनान्तर घाटा २५ अर्ब नाघ्यो, डलर संचितिमा दबाब पर्दै

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो दुई महिनामा आयात र अमेरिकी डलरको भाउ ह्वात्तै बढ्दा सोधनान्तर घाटा ह्वात्तै बढेर गएको छ ।

अघिल्लो बर्ष सोही अवधिमा पाँच अर्ब ८७ करोड रुपियाँ मात्रै रहेको यस्तो घाटा यस बर्ष २५ अर्ब ४५ करोड पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको आर्थिक अवस्थामा उल्लेख छ ।

यस अवधिमा चालु खाता घाटा बढेर ३५ अर्ब ५६ करोड पुगेको छ । अघिल्लो आर्थिक बर्षको पहिलो दुई महिनामा यस्तो घाटा १९ अर्ब ७४ करोड रुपियाँ रहेको थियो ।

यस दुई महिनामा अमेरिकी डलरको सोधनान्तर घाटा २३ करोड नौ लाख डलर पुगेको छ । जबकी अघिल्लो बर्ष सोही अवधिमा पाँच करोड ७३ लाख डलर मात्रै थियो ।

चालु आर्थिक बर्षको पहिलो दुई महिनामा आयात ३८ दशमलव पाँच प्रतिशतले बढेको छ । यद्यपि यस अवधिमा विदेशी विनिमय संचित घट्न नपाए पनि वृद्धि भने निकै न्यून छ । यस अवधिमा ११ खर्ब १७ अर्ब रुपियाँको विदेशी विनिमय संचित रहेको राष्ट्र बैंकले जनाएको छ । गएको असारको तुलनामा भदौसम्म यो संचित एक दशमलव तीन प्रतिशतले मात्रै बढेको हो । यद्यपि डलरको संचितमा भने केही गिरावट आएको छ ।

समीक्षा अवधिमा निर्यात जम्मा आठ प्रतिशतले वृद्धि भएर १४ अर्ब ७० करोड रुपियाँको निर्यात भए पनि आयात भने ३८ दशमलव पाँच प्रतिशतले वृद्धि भएर दुई खर्ब ३२ अर्ब ३५ करोड रुपियाँको आयात भएको छ ।

Advertisement

Advertisement

Advertisement