अस्पतालको शैयाबाट प्रधानमन्त्रीले भने ‘म सन्चै छु’ (वक्तव्यसहित)

Advertisement

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचार गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफु अस्पतालबाट चाँडै नै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार एक सन्देश जारी गर्दै सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

‘चिकित्सकहरूले मलाई दिनुभएको जानकारी अनुसार म छिट्टै नै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु’ ओलीले आफ्नो सन्देशमा भने, ’विगतमा झैं समग्र देशवासी दाजुभाई तथा दिदीबहिनीहरूको सहयोग र सद्भाव निरन्तर रहनेमा म विश्वस्त छु।’

ओलीले केही सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यमबाट आफ्नो स्वास्थ्यका बारेमा गरिएको प्रचारबाजीबाट प्रभावित नहुन सबैलाई आग्रह गरेका छन् ।

ओलीले आफ्नो सन्देशमा भनेका छन, ‘सामाजिक सञ्जाल तथा केही संकुचित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा गरिएको आधारहिन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारवाजीको मलाई जानकारी छ । यसप्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु ।’

ओलीले सन्देशमा मौसमी रुखाखोकी र त्यसबाट हुनसक्ने संक्रमणको रोकथामका लागि आफु त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेको जानकारी दिएका छन् । ओलीले मुलुकका केही भागमा घटेका घटनाप्रति चासो व्यक्त गर्नै त्यसमा आफु संवेदनशिल भएको उल्लेख गरेका छन् ।

‘धर्म, संस्कृतिको नाममा होस् वा दलीय बहसको नाममा, आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि दुष्कर्म मान्य हुनै सक्दैन’ प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन्, ‘यस्ता प्रकृतिका कार्यमा संलग्न जो सुकैलाई पनि राज्यको प्रशासन र सुरक्षा निकायले कानुन बमोजिम कारवाही गर्छ ।’

Advertisement

Advertisement

Advertisement