मध्यभोटेकोशीले एक करोड ४४ लाख कित्ता आइपीओ जारी गर्दै, पहिलो चरणमा सञ्चयकर्तालाई

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र प्राधिकरणकै चिलिमे जलविद्युत कम्पनीको लगानीमा स्थापित मध्य भोटेकोशी जलविद्युत कम्पनीले सर्वसाधारण शेयरधनी समूहअन्तर्गत रहेका शेयरधनीहरुलाई शेयर निष्काशन गर्ने तयारी गरेको छ ।

सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको यस कम्पनीले चुक्ता पुँजीको ४९ प्रतिशतमध्ये पहिलो चरणमा सर्वसाधारण शेयरधनी समुहअन्तर्गत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारी १९ दशमलव ५ प्रतिशत, संस्थापक संगठित संस्थाका कर्मचारीलाई ३ दशमलव ५ प्रतिशत, ऋणदाता संस्थाका कर्मचारीलाई एक प्रतिशत सेयर दिन लागिएको बुधबार कम्पनीले पत्रकार सम्मेलन गरी सेयर जानकारी दिएको हो ।

जसअनुसार पहिलो चरणमा सय रुपियाँ दरका एक करोड ४४ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गरिने छ । जसमा कर्मचारी संचयकोषमा रकम संचित गर्ने संचयकर्ता कर्मचारीका लागि एक करोड १७ लाख कित्ता, संस्थापक संगठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि छ लाख कित्ता निष्काशन गरिने छ ।

कर्मचारी सञ्चय कोषमा २०६८ मंसिर २२ गतेसम्म बहाल रहेका र त्यसपछि विवरणपत्र स्वीकृत भएको मिति २०७५ आश्विन २९ सम्ममा थप भएका संचयकर्ता, संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीहरुले यस चरणको शेयर निष्काशनमा आवेदन दिन सक्नेछन् ।

यसरी आवेदन दिँदा सञ्चयकर्ताहरुले २८ कात्र्तिक–१४ मंसिर २०७५ सम्म र संस्थापक संगठित संस्थाका कर्मचारी तथा ऋणदाता संस्थाका कर्मचारीले १८–२६ मंसिर २०७५ सम्म आवेदन दिन सकिनेगरी मिति भोलि बिहीबार आव्हान पत्र प्रकाशन गर्ने कम्पनीको योजना बनाएको छ ।

कुल १४ अर्ब ८३ करोड ९२ लाख रुपियाँ लाग अनुमान गरिएको मध्य भोटेकोशीको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइने व्यवस्था मिलाइएको छ । जसमा ५० प्रतिशत ऋणका लागि कर्मचारी संचयकोषसँग ऋण सम्झौता भएको छ । संस्थापक समूहबाट कबोल भएको शेयर रकम तीन अर्ब ६ करोड चुक्ता भइसकेको जनाइएको छ ।

कम्पनीको जारी पूँजीको ५१ प्रतिशत शेयर स्वामित्व संस्थापक शेयरधनीहरु (नेपाल विद्युत प्राधिकरण–१० प्रतिशत, चिलिमे जलविद्युत कम्पनी –३७ प्रतिशत, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी– १ प्रतिशत, नेपाल अरनिको हाइड्रोपावर कम्पनी –१ प्रतिशत, सिन्धु इन्भेष्टमेण्ट कम्पनी– १ प्रतिशत र सिन्धु भोटेकोशी हाइड्रोपावर – १ प्रतिशत) रहेको छ भने ४९ प्रतिशत सर्वसाधारण शेयरधनीबाट संकलन गरिने छ ।

शेयरको निष्काशन तथा विक्री वितरण गर्न ग्लोबल आईएमई. क्यापिल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक र प्रभु क्यापिटल लिमिटेड, एनआइबिएल एस क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, सिभिल क्यापिटल मार्केट लिमिटेड, सानिमा क्यापिटल लिमिटेड, र सिबिआएल क्यापिटल लिमिटेडलाई सह–निष्काशन तथा विक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।

शेयर निष्काशन तथा विक्री वितरणका लागि सीआश्वा अनिवार्य गरिएको छ । आवेदकहरुले देशभरी रहेका सीआश्वा सेवा प्रदान गर्ने सम्पूर्ण बैक तथा वित्तीय संस्थाहरुमा आफ्नो कर्मचारी परिचयपत्र तथा संचयकर्ताको हकमा संचयकर्ता परिचयपत्र पेश गरी आवेदन दिनुपर्नेछ । साथै आवेदकहरुको सीआरएन तथा डिम्याट खाता पनि अनिवार्य रहेको छ ।

शेयरको लागि यसरी आवेदन दिँदा कर्मचारी संचय कोषका संचयकर्ताहरु र संस्थापक संस्थाका कर्मचारीहरुले न्यूनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ५०० कित्तासम्म आवेदन दिन सक्नेछन् भने कर्मचारी संचय कोषका कर्मचारीले न्युनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम् एक हजार दुईसय कित्तासम्मको लागि शेयरमा आवेदन दिन सक्नेछन् ।

दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाबासीलाई छुट्याइएको ६० लाख कित्ता र अन्तिम चरणमा मुलुकभरका सर्वसाधारणका लागि छुट्याएको ९० लाख कित्ता शेयर निष्काशन गर्ने योजना रहेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement