नयाँ कार्यविधि अनुसार कर सङ्कलन शुरु

Advertisement

पोखरा । पोखरा महानगरपालिकाले नयाँ कार्यविधि अनुसार ३३ वटै वडा कार्यालयबाट पनि कर सङ्कलन शुरु गरेको छ । एकीकृत सम्पत्तिको नाममा उच्च अदालत पोखराले कर नउठाउन आदेश जारी गरेपछि महानगरले सम्पत्ति कर तथा भूमि व्यवस्थापन कर शीर्षकमा महानगर र वडा कार्यालयबाट कर सङ्कलन शुरु गरेको हो।

पोखरा महानगरपालिका राजश्व शाखा प्रमुख छवि शर्माका अनुसार साविक लेखनाथमा पर्ने वडा नं २७, २९,३०, ३१ बाट कर सङ्कलन शुरु भएको छ। उनका अनुसार वडा नं ५, ६, ७, ८, १०, १३, १५, १७ मा पनि सम्पत्ति कर तथा भूमि व्यवस्थापन कर, घर नक्साको राजश्वलगायत सबै कर तिर्न सकिनेछ।

महानगरपालिका कार्यालयमा कर सङ्कलन हुँदा जनतालाई कष्टकर हुनुको साथै बढी भीड हुने गरेको कारण सर्वसाधारणले जुनसुकै वडामा राजश्व बुझाउने व्यवस्था गरिएको बताउँदै उनले वडा नं १,२,३,४,११ र १६ नम्बर वडामा बुधबारदेखि कर सङ्कलन शुरु गरिने जानकारी दिए।

पहिले नै भएको एकीकृत सम्पत्ति करका केही बुँदा संशोधन गरेर नयाँ कार्यविधि पारित गरी महानगरले कर सङ्कलन शुरु गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल बताउँछन्।

असोज महीनाको ५ गते राजपत्रमा कर सम्बन्धी नयाँ कार्यविधि प्रकाशित भएपछि महानगरले कर सङ्कलन शुरु गरेको हो।

Advertisement

Advertisement

Advertisement