४८ अर्बमा गुजरातमा बनाइएको विश्वकै अग्लो स्मारक अनावरण गरियो

Advertisement

सरदार सरोवर ड्याम । भारतको गुजरातमा निर्माण गरिएको विश्वकै सबैभन्दा अग्लो स्मारकको बुधबार अनावरण गरिएको छ । उक्त स्मारक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार अनावरण गरेका हुन । सो अनावरण कार्यक्रममा भारतीय प्रहरीले व्यापक सुरक्षा प्रदान गरेका थिए ।

सो स्मारक भारतीय स्वतन्त्रता सेनानी वल्लभ भाई पटेलको हो । उनको स्मारक करिब चार वर्ष लगाएर बनाइएको छ । यसै महिना निर्माण सम्पन्न भएपछि त्यसको अनावरण प्रधानमन्त्री मोदीले बुधबार गर्र्ने कार्यक्रम रहेको भनी व्यापक प्रचार गरिएको थियो ।

सोही बमोजिम अनावरणको तयारी गरिएपछि स्थानीयहरुले त्यसको विरोध गरेका छन् । उनीहरुले उक्त सालिक निर्माणप्रति असन्तुष्टि जनाउँदै अनावरणको दिन विरोध प्रदर्शन गर्ने जनाएका थिए ।

सरकारले प्रधानमन्त्री उपस्थित हुने यस कार्यक्रममा कुनै असुरक्षा नहोस् भनेर ठूलो संख्यामा प्रहरी खटाएको थियो । सादा पोशाकमा खटाइएका प्रहरीले सङ्कास्पद केही व्यक्तिलाई नियन्त्रणमा लिएका समाचारहरु पनि आइरहेका छन् ।

गुजरातका प्रहरी अधिकारीले उक्त स्मारक रहेको क्षेत्रको वरिपरि करिब १० किलोमीटर क्षेत्रसम्म कम्तीमा पनि पाँच हजार प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् ।

उक्त स्मारकलाई विश्वकै सबैभन्दा अग्लो भनी प्रचार गरिएको छ । त्यसको उचाई १८२ मीटर (६००) फिट रहेको बताइएको छ । उक्त स्मारक निर्माणका लागि करिब ३० अर्ब भारतीय रुपियाँ (४८ अर्ब नेपाली) खर्च लागेको बताइएको छ ।

स्मारक उद्घाटनका लागि बुधबार गुजरातमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । त्यस स्मारक निर्माण भएको क्षेत्र वरिपरिको आकासमा बुधबार बिहानदेखि नै हेलिकोप्टरले हवाई सुरक्षा गस्ती दिइरहेको थिए ।

त्यसैगरी प्रधानमन्त्री मोदीले उक्त स्मारकको अनावरण गर्ने क्रममा हेलिकोप्टरले आकासबाट पुष्पवृष्टि गरेको अधिकारीहरुले जनाएका छन् ।

‘स्ट्याचु अफ युनिटी’ एकताको स्मारक नाम दिइएको सो स्मारक निर्माण गर्न स्थानीय नागरिकको धेरै जग्गा सरकारले लिएको आरोप स्थानीयको रहेको छ । उनीहरुले सरकारसँग त्यस जग्गाको क्षतिपूर्ती माग गरेका छन् ।

सरकारले क्षतिपूर्ती नदिएकोले नै गुजरातका स्थानीय वासिन्दाले सो स्मारकको अनावरण कार्यक्रमको विरोध गरेका जनाइएको छ । उनीहरुले विगत लामो समयदेखि आफ्नो जग्गाको क्षतिपूर्ती मागेको बताएका छन् ।

तर स्थानीयको जग्गा अनुसारको क्षतिपूर्ती सरकारले नदिएकोले आफूहरुले विरोध गरेको उनीहरुको भनाई छ । स्थानीय नागरिकहरुले विभिन्न सङ्घर्ष समिति नै बनाएर प्रधानमन्त्री मोदीलाई उक्त स्मारकको अनावरणमा नआउन भनेका थिए । यदि उनी सो उद्घाटनमा आएमा कडा विरोध गर्ने पनि उनीहरुले बताएका थिए ।

Advertisement

Advertisement

Advertisement