सम्पत्ति करबारे जानकारी दिन टोलटोलमा कर शिक्षा अभियान शुरु

Advertisement

बाँके। स्थानीय तहले अध्ययन नै नगरी करको दायरा बढाएको भन्दै नागरिकबीच सकारात्मक र नकारात्मक आलोचना भइरहेका बेला बाँकेको खजुरा गाउँपालिकाले नागरिकलाई एकीकृत सम्पत्ति करका बारेमा जानकारी दिन टोलटोलमा कर शिक्षा अभियान शुरु गरेको छ ।

सबैलाई करको दायरामा ल्याउन र करका विषयमा जानकार बनाउन टोलटोलमा कर शिक्षा दिइरहेको खजुरा गाउँपालिकाका अध्यक्ष किष्मतकुमार कक्षपतिले बताए  ।

गत साउन १ गतेदेखि लागू भएको एकीकृत सम्पत्ति करका विषयमा नागरिकको बुझाइमा केही भिन्नता देखिएपछि कर शिक्षा अभियान सञ्चालन गर्नुपरेको उहाँले स्पष्ट पार्नुभयो ।

राजश्व सङ्कलनदेखि वैज्ञानिक प्रणालीमा आधारित भएकाले पछिल्लो समयमा जग्गासमेत व्यावसायिक प्रयोजनमा गइसकेकाले एकीकृत सम्पत्ति कर उपयुक्त हुने उनको ठहर छ ।

एकीकृत सम्पत्ति करका बारेमा नागरिकलाई थप जिम्मेवार बनाउन गाउँपालिकाले करदाता परिचयपत्र लागू गर्ने विषयमा छलफल गरिरहेको छ । नागरिकले तिरेको करका विषयमा पारदर्शीतासँगै कुन टोल वा वडाबाट कति कर सङ्कलन भयो भन्ने विषयमा एकिन हिसाव राख्न करदाता परिचयपत्रले सहज बनाउने गाउँपालिकाले जनाएको छ ।

अभियान सञ्चालनका लागि गाउँपालिकाले यसअघि गाउँकार्यपालिकाका सदस्य, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि र नागरिक अगुवालाई एकीकृत सम्पत्ति करबारे प्रशिक्षण दिएको थियो । सोही टोलीले गाउँपालिकाका– ८ वडाका टोलटोलमा पुगेर सम्पत्ति करबारे जनतालाई बुझाउने छ ।

Advertisement

Advertisement

Advertisement