‘लोकसेवा परीक्षा कुरेका १० लाख युवालाई सरकारले अन्योलमा पार्यो, अब त्यस्तो हुन दिन्न’

Advertisement

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले अबका दिनहरुमा विज्ञापन तालिका फेरबदल नगर्ने दाबी गरेका छन् । रिपोर्टर्स क्लवमा बुधबार उनले भने, ‘लाखौ युवाहरुलाई निरुत्साहित हुन दिन्नौं, अब आगामी दिनमा आयोगले विज्ञापन तालिका फेरबदल गर्दैन् । मंसिरपछि भर्ना विज्ञापन खोल्छौं ।’

मैनालीले इतिहासमै पहिलोपटक सरकारलाई सहज होस् भन्ने आशयका साथ विज्ञापनलाई दुई महिना पर (मंसिर) सम्म सारिएको स्पष्ट पारे । उनले भने, ‘अब अर्कोपटक सार्दैनौं ।’

मैनालीले आयोगसँग लिनुपर्ने परामर्शलाई सरकारले गम्भीर रुपमा लिनुपर्ने धारणा राखे । उनले भने, ‘हामीले एक÷दुई वटा विषयमा सरकारलाई सुझाव दिएको छौं । सरकारले त्यसलाई परामर्शको रुपमा लिनुपर्छ । हामीले नचाहँदा नचाहँदै पनि सरकारको असहजतालाई ध्यानमा राखेर दुईमहिनाको लागि विज्ञानपन रोकेका हौं । यो हाम्रो बाध्यता हो, सरकारप्रति सदासयता देखाएका हौं, भूकम्पको बेलामा पनि नरोकिएको विज्ञापन यतिखेर रोकिएको अवस्था छ ।’

मैनालीले थपे, ‘सरकारले आवश्यक कर्मचारीको संख्या र आवश्यक ऐन ल्याई लोकसेवाको तयारीमा बसेका १० लाख बढि यूवाहरुको भविष्यलाई ध्यानमा राखेर काम गर्नुपर्छ । उमेरको कुरा हुन्छ । समयको कुरा हुन्छ । पारिवारिक अवस्थाको कुरा हुन्छ । यस्ता संवेदनशिलतामा सरकार गम्भीर बन्नुपर्छ । त्यसको लागि आयोगले भन्न मिल्ने र स्वयम् म आँफै पनि जान मिल्ने ठाउँमा गएर सुझाव दिईरहेको छु । तर एक महिना बाँकी छ । सरकारले यो काम गर्नेमा हामीलाई शंका छ । यसतर्फ सरकारको गम्भिर ध्यान जान जरुरी छ ।’

उनले थपे, ‘हामीकहाँ स्वास्थ्य, संसद, महालेखा, परराष्ट्रलगायतले रिक्त दरबन्दी पठाईसकेको छ । केहीले नपठाएका कारण भोलिका दिनमा समान पदमा सिनियर र जुनियरको झमेला हुन्छ भन्ने कुरालाई ध्यानमा राखेर आयोगले आफ्नो इतिहास भत्काएको हो ।’

संघीय सरकार र प्रदेश सरकारबीच समन्वय गरी संविधानको व्यबस्थाअनुसार कर्मचारी भर्नाको लागि सहमति जुटाउनुपर्ने बताउँदै अध्यक्ष मैनालीले भने, ‘ऐन नबनेको खण्डमा प्रदेश सरकारलाई चाहिने कर्मचारीहरु संघीय सरकारले उपलब्ध गराउने व्यबस्था छ । त्यही बाटो भएर यूवाहरुको चिन्ता गर्नुपर्छ । राजनीतिक परिवर्तन भएपनि कर्मचारीतन्त्र परिवर्तन हुन नसकेको स्थिति छ । राजनीतिक लिडरमात्रै राम्रो भएर हुँदैन । कर्मचारी पनि राम्रो हुनुपर्छ, कर्मचारी मात्रैपनि राम्रो भएर हुँदैन । कर्मचारीले आफ्नो धर्म पालना गर्नुपर्छ, सरकार चलाउने नेताहरुले शासन होईन राज गर्नुपर्छ, जनताको भावना बुझ्नुपर्छ । सेवा गर्नुपर्छ ।’

अध्यक्ष मैनालीले लोकसेवा आयोगलाई निष्पक्ष र विश्वसनीय बनाईराख्नको लागि प्रदेश लोकसेवा आयोगलाई शक्तिशाली बनाउनुपर्ने धारणा राखे । उनले भने, ‘आस र त्रासभन्दा बाहिर रहेर मुलुक र जनताको सेवा गर्नु कर्मचारीको धर्म हो । कर्म हो, त्यो गर्नुपर्छ । हामीले त परीक्षा लिने हो । राम्रो र योग्य व्यक्ति छान्ने हो । भर्ना गर्ने काम सरकारको हो । राणा शासनमा चाकडी र राजतन्त्रको बेला थर र घरको आधारमा बाँड्ने जागिरलाई २००७ सालको परिवर्तनपछि २००८ असाढ ८ गते स्थापना गरिएको आयोगको एउटै उद्देश्य भनेको योग्यताका आधारमा जनताको सेवा गर्नुपर्छ, त्यस्तो मानिसलाई राज्यको निकायमा पुर्याउनुपर्छ भन्ने नै हो ।’

मैनालीले ‘पेपर र पेन्सिल’को आधारमा मात्रै लिइने योग्यताको परीक्षणलाई नयाँ विधिअनुसार लिने तयारी थालेको जानकारी दिँदै भने, ‘व्यक्तिको योग्यता नाप्ने यन्त्र पेपर र पेन्सिल मात्रै होइन, अरु ज्ञानको पनि खाँचो हुन्छ । त्यसैले आयोग यसतर्फ सचेत छ । योग्यता परीक्षणका नयाँ विधिहरु अघि सार्ने योजना बनाउँदैछ । घरमै बसेर फर्म भर्न सकिने व्यवस्थामा प्रवेश गरिसकेको छ । आयोग इतिहासदेखि आजको दिनसम्म कुनैपनि आक्षेप र विवादमा नमुछिएर काम गर्न सफल छ । सुरक्षा निकायको परीक्षासमेत आयोगले लिने अधिकार पाएको छ, आयोगले प्राप्त गरेका अधिकारहरुलाई पूर्णरुपमा पालना गरेको छ । आगामी दिनमा पनि यसको इतिहास र गरिमालाई कायम राख्नेछ । सरकारले गर्नुपर्ने कामहरु तत्काल गर्नुपर्छ भन्ने आयोगको माग हो ।’

फरक प्रसँगमा उनले प्रदेश सरकारले हामीलाई यति कर्मचारी चाहियो भनेर लिखित रुपमा दिए आयोगले छ महिनाभित्रै कर्मचारी पदपुर्ति गरिदिने विश्वास दिलाए । उनले भने, ‘कर्मचारी समायोजना ऐन–२०७४ अनुसार नै हामी आवश्यक कर्मचारी पदपुर्ति गरिदिन्छौं ।’

Advertisement

Advertisement

Advertisement