पटक पटक भाखा सार्दै आएको मेलम्चीको मंसिरभित्र पानी छाड्ने दावी

Advertisement

काठमाडौं । मंसिर अन्तिमसम्म मेलम्चीको सुरुङ परीक्षण गर्ने तयार भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

मेलम्चीदेखि काठमाडौंको सुन्दरीजलसम्म कुल २७ दशमलव ५८४ किलोमिटर सुरुङमध्ये ५ किलोमिटर सुरुङ मात्र ढलान हुन बाँकी छ । बाँकी ढलानको कामले गति लिएकाले मंसिरको अन्तिमसम्म सुरुङ परीक्षण गर्ने तयारी भइरहेको आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले बताए ।

‘मन्त्रालयले त हामीलाई २० मंसिरभित्रै जनताको घरमा पानी छाड्ने गरी काम गर्न भनेको छ,’ उनले भने, ‘मंसिर अन्तिमसम्म सुरुङको परीक्षण सक्छौँ होला ।’ सुरुङभित्र जडान गर्नुपर्ने गेट र गियरवालहरू चीन र भारतबाट आइसकेकाले सुरुङ ढलान सक्नेबित्तिकै उपकरण जडानको काम पनि सम्पन्न हुने उनले दाबी गरे । उपभोक्ताको धारामा पानी भने सुरुङको परीक्षण सफल भए मात्र पठाउन सकिने उनले बताए ।

धोबी खोलासम्म पाइप फ्लसिङ सकियो
मेलम्चीको पानी रिजभर्वायरसम्म पु(याउन बिच्छाइएको मुख्य पाइप सफा गर्ने काम धोबी खोलासम्म सम्पन्न भएको छ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार शुद्धीकरण गरिएको वागमतीकै पानीले पाइप फ्लसिङ गर्ने काम भइरहको छ ।

‘धोबी खोलासम्म सम्पन्न भइसक्यो । अब हामी नयाँ बसपार्कसम्म फ्लसिङ गर्दै छौँ,’ निर्देशनालयका प्रवक्ता दिवाकर ढकालले भने । वर्ष सकिएसँगै वागमतीमा पानीको बहाव घटेकोले पाइप भरी पानी राखेर फ्लसिङ गर्न नसकिएको उनले बताए । उपभोक्ताको घरसम्म पानी पु(याउने पाइपको सफाइ भने मेलम्चीको पानी आएपछि मात्र सम्भव हुने निर्देशनालयले जनाएको छ । मेलम्चीखोलाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याइने आयोजनाले जनाएको छ ।
आजको नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement