पीपीएलः जितसँगै चितवनको प्लेअफ सम्भावना बलियो, काठमाडौं १३ रनले पराजित

Advertisement

काठमाडौं । पोखरामा जारी पोखरा प्रिमियर लिगमा बिहीबार भएको खेलमा चितवन राइनोजले जित हात पारेको छ । काठमाडौं रोयल्सलाई १३ रनले पराजित गर्दै चितवन राइनोजले जितेको हो । जितसँगै चितवनले प्लेअफको सम्भावना बलियो भएको छ ।

सुरुका दुई खेलमा लगातार हार ब्यहोरेको चितवनले बुधबार भएको तेस्रो खेलमा धनगढी ब्लुजलाई पराजित गर्दै पहिलो जित निकालेको थियो । बिहीबार भएको खेल जितेसँगै चितवनले चार खेलमा दुई जित निकाल्दै चार अंक बनाएको छ । यता काठमाडौंले भने आफ्नो तेस्रो खेलमा पहिलो हार व्यहोरेको छ । अघिल्ल दुई खेलमा लगातार जित्दै काठमाडौंले चार अंक बनाएको थियो । चितवनसँगको हारपछि काठमाडौंको पनि प्लेअफको सम्भावना कायम रहेको छ ।

प्रतियोगिता अन्तर्गत बिहीबारको पहिलो खेलमा चितवन राइनोजले दिएको एक सय ५० रनको लक्ष्य पछ्याएको काठमाडौं रोयल्स २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ३६ रनमा समेटियो । काठमाडौंका लागि गौरव तोमारले सर्वाधिक ३९ रनको योगदान दिए । ३५ बल खेलेका तोमारले ४ चौंका र १ छक्का प्रहार गरे ।
कप्तान ज्ञानेन्द्र मल्ल २२ बलमा ३ चौंका र १ छक्काको मद्दतमा ३० रन जोडेर आउट भए । त्यस्तै पवन सर्राफले २२ बलमा ३ चौंका र १ छक्काको सहयोगमा २८ र जयकिशन कोल्सवालाले १४ बलमा १८ रन बनाउनु बाहेक अन्यको प्रदर्शन राम्रो रहन सकेन ।

काठमाडौंलाई १३६ रनमा समेटन चितवनका करण केसीले ३, कप्तान पारस खड्काले २ तथा सन्नी पटेल, सुमित पटेल र भुवन कार्कीले एक–एक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पारस खड्काको चितवन राइनोजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४९ रन बनाएपछि ज्ञानेन्द्र मल्लको काठमाडौं रोयल्सले १५० रनको लक्ष्य पाएको थियो ।

चितवनका लागि ओपनर अनिलकुमार शाह र हरीशंकर शाहले पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरे । अनिल ७।२ ओभरमा २७ रन बनाएर आउट भए । उनले २७ बलको सामना गर्दै ३ चौंका र १ छक्का प्रहार गरे । अनिल आउट भएपछि क्रिजमा आएका कप्तान पारस खड्का १४ रन बनाएर दोस्रो विकेटका रुपमा पवेलियन फर्किए ।

अर्का ओपनर हरीशंकर शाहले सर्वाधिक ६० रनको योगदान दिए। उनले ४९ बलमा ५ चौंका र ३ छक्का प्रहार गरे । उनी १८।३ ओभरमा पवन सर्राफको बलमा तेस्रो विकेटका रुपमा आउट भए । त्यस्तै सुमित पटेलले २४ बलमा ३ चौंका र १ छक्काको मद्दतमा ३१ र सन्नी पटेलले ७ बलमा १३ रन बनाए । काठमाडौं रोयल्सका लागि बसन्त रेग्मीले २ तथा नन्दन यादव र पवन सर्राफले एक–एक विकेट लिए ।

प्रतियोगिताको दोस्रो खेलमा दिपेन्द्र सिंह ऐरीको धनगढी ब्लुज र सोमपाल कामीको बुटवल ब्लास्टर्सबीच प्रतिस्पर्धा हुँदैछ। ३ खेलबाट २ अंक जोडेको धनगढीलाई अघिल्लो चरणमा स्थान बनाउन बुटवललाई जित्नै पर्ने हुन्छ । यता बुटवल ३ खेलबाट ४ अंक जोडेर लिगको शीर्ष स्थानमा छ । बुटवल चौथो खेल जितेर प्ले अफ यात्रा बलियो बनाउन चाहन्छ ।

Advertisement

Advertisement

Advertisement