काठमाडौं। हिजो मात्रै प्रभावित क्षेत्रका बासिन्दालाई सेयर बाँडफाँड गरेको अपर तामाकोशीले बिहिबारदेखि सर्वसाधारणकालागि एक अर्ब ५८ करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गरेको छ।
कम्पनीले छिटोमा कात्तिक १९ गते र ढिलोमा मंसिर १४ गतेसम्म बिक्री खुला गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नागरिक लगानीकोषले जानकारी दिएको छ ।
सर्वसाधारण लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । आवेदनकालागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ ।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरका २ करोड ६४ लाख कित्ता शेयर निष्कासनमध्ये एक करोड ५ लाख कित्ता प्रभावित क्षेत्रकालागि र एक करोड ५८ लाख कित्ता सर्वसाधारणकालागि छुट्याएको हो।
कम्पनीको क्रेडिट रेटिङ ‘इक्रा एनपि आइपिओ ग्रेड चार’ रहेको छ। यो रेटिङ दोस्रो खराव ग्रेड हो। ग्रेड एक सबैभन्दा राम्रो मानिन्छ भने ग्रेड ५ सबैभन्दा खराब ग्रेड हो।
कम्पनीको प्रतिमेगावाट लागत १० करोड ८१ लाख रुपैयाँ रहेको छ। सर्वसाधारण शेयर निष्कासनसँगै कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ। आयोजनाको निर्माण कार्यमा ढिलाइ हुँदा प्रतिमेगावाट निर्माण लागत बढ्ने भएको छ ।