तामाङ परिषदको महाधिवेशन दार्जिलिङमा हुने, प्रदेश ३ लाई तामाङ राज्य बनाइछाड्ने दावी

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय तामाङ परिषदले आगामी मंसिर २८ गतेदेखि पुस १ गतेसम्म चौथो महाधिवेशन भारतको दार्जिलिङ मिरिकमा आयोजना गर्ने भएको छ । बिहीबार परिषदले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो ।

‘विश्वभरिका तामाङहरू एकजुट होऔं, तामाङ पहिचान र संस्कृति समृद्ध पारौं’ भन्ने नारासहित महाधिवेशन गर्न लागिएको परिषदले जनाएको छ । पहिलो दिन विशेष समारोहसहित भारत सरकारका पश्चिम बंगालका मुख्यमन्त्री ममता बेनर्जीले सम्मेलनको उद्घाटन गर्नेछिन दुई दिन बन्दसत्रको कार्यक्रम रहेको जनाइएको छ ।’

परिषदका अध्यक्ष महेन्द्रजंग तामाङले चौथो महाधिवेशनबाट नेतृत्व छनोट गर्ने बताए । उनले भने, ‘विश्वभरका तामाङहरुको एउटै साझा संस्थाको रुपमा रहेको अन्तर्राष्ट्रिय तामाङ परिषदलाई नयाँ उचाईमा पुर्याउनको लागि हामी प्रतिवद्ध भएर लागिरहेका छौं । आगामी नेतृत्वले पनि आफ्नो भूमिकालाई अझ सशक्त बनाएर अघि बढ्नुपर्छ ।’

दक्षिण कोरियाका लागि पूर्वराजदूत कर्मासिंह लामाले आगामी पाँच वर्षपछि प्रदेश नम्वर ३ लाई नेवाः तामसालिङ प्रदेशको रुपमा स्थापना गरेरै छोड्ने दाबी गरे । उनले भने, ‘संविधान कुनै धर्मग्रन्थ होइन, आजको दिनमा हाम्रो माग असफल भए पनि आगामी पाँच वर्षपछि पूरा हुन्छ, हाम्रो माग यथावत छ, नेवार र तामाङ समुदायको हकअधिकार सुरक्षित गर्नको लागि हामी निरन्तर लागिरहन्छौं ।’

परिषदका संस्थापक सदस्य पर्शुराम तामाङले परिषदको आगामी नेतृत्व भारतीय नागरिकले लिने स्पष्ट पारे । उनले भने, ‘हाम्रो आफ्नै प्रकारको विधान र नीतिहरु छन्, वर्तमान विधान पनि केही रुपमा परिवर्तन हुनेछ । विधान बमोजिम नै अबको नेतृत्व भारतले पाउने हो । सम्मेलनमा नेपालसहित भारत, कतार, जापान, अमेरिका, कुवेत, दक्षिण कोरिया, यूएई, हङकङ, ओमान, बेल्जियम, साउदी, अष्ट्रेलिया, बेलायत, पोर्चुगल, बहराईन, मकाउ, भाईल्याण्ड, बर्मा, भुटानलगायतका देशहरु छन् ।’

Advertisement

Advertisement

Advertisement