पोखरा विमानस्थलमा भारतीय दूतावास र नेपालकै निकायहरुको असहयोग

Advertisement

कास्की । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनिया ठेकेदार कम्पनीले विमानस्थल निर्माणका क्रममा आफूहरुले विस्फोटक पदार्थ खरिद गर्न नसक्दा काम गर्न कठिनाई भइरहेको गुनासो पोखेको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको माधव नेपाल नेतृत्वमा आएको अनुगमन टोलीसँग कुरा गर्दै कम्पनीका प्रतिनिधिहरुले निर्माणस्थलमा भेटिएका चट्टानहरु फुटाउन चाहिने विस्फोटक पदार्थ खरिद गर्ने कुरामा विशेषगरी भारतीय पक्षबाट असहयोग भएको गुनासो पोखेका हुन् ।

बिस्फोटक पदार्थ किन्न ६ महिना अघिदेखि सुरु गरेको प्रक्रिया अहिले भारतीय दूतावासमा गएर अडकिएको र नेपालकै निकायहरुले पनि त्यसलाई कुटनीतिक ढंगबाट फुकाएर काममा सहजीकरण गर्न सहयोग नगरेको पाइएको छ ।

ठेकेदार कम्पनी सीएएमसीईका जनसम्पर्क अधिकृत कृष्ण चापागाईंका अनुसार जमिन खन्दा निस्केका ठूला ढुंगा फुटाउन बिस्फोटक पदार्थ आवश्यक परेको छ ।

नागरिक उड्डयन प्राधिकरण, उड्डयन, अर्थ, गृह रक्षा हुँदै प्रक्रिया भारतीय दूतावास पुगे पनि दूतावासले प्रक्रिया अघि नबढाएको र नेपालकै सम्वन्धित निकायहरु पनि त्यस विषयमा दूतावासलाई सोध्न आनाकानी गर्दै आएको पाइएको हो ।

भारतबाट मात्रै यस्ता विस्फोटक पदार्थ आयात गर्नुपर्ने विद्यमान कानुनी व्यवस्थाका कारण चिनियाँ निर्माण कम्पनीले समस्या झेल्नु परेको हो । तोकिएको समयभन्दाअघि नै काम सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको उक्त कम्पनीले अहिले जमिन सम्याउने र धावनमार्गको स्वरुप तयार गर्ने काम गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement