स्वास्थ्य सामान्य हुँदै गएपछि प्रधानमन्त्रीलार्इ आजै डिस्चार्ज गर्ने तयारी

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य अवस्थामा फर्कियपचि अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ। पछिल्लोपटक गरिएका परीक्षणबाट प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सामान्य देखिएपछि डिस्चार्ज गर्ने तयारी गरिएको अस्पताल स्रोतले जानकारी गराएको हो।

सोमबार बिहान ४ बजेदेखि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि आजै बेलुका डिस्चार्ज गर्ने तयारी भएको प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहले जानकारी दिइन्।

‘उहाँको स्वास्थ्य अहिलेकै अवस्थामा रह्यो भने हामीले आज बेलुका नै डिस्चार्ज गर्ने तयारी गरेका छौं’, प्रधानमन्त्रीकी निजी चिकित्सक समेत रहेकी डा. सिंहले भनिन्, ‘केही कारणले आज भएन भने भोलि बिहान डिस्चार्ज गर्छौं ।’

शुक्रबार बिहान जारी विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्यस्थिति सामान्य भएको जनाइएको छ। प्रधानमन्त्री ओली छातीमा संक्रमण देखिएको कारण गत सोमबारदेखि शिक्षण अस्पतालको उपचार गराइरहेका छन्।

डा. अरुण सायमीको संयोजकत्वमा दिव्या सिंह शाह तथा सन्तकुमार दास सम्मिलित समूह प्रधानमन्त्रीको उपचारमा संलग्न छ। प्रधानमन्त्री ओलीको ११ वर्ष अगाडि २०६४ साल असारमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन्।

Advertisement

Advertisement

Advertisement