कर्मचारीले संघीयता मान्नैपर्ने प्रचण्डको निर्देशन, नमाने जागिरबाट हटाइदिने चेतावनी

Advertisement

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संघीयता मान्न कर्मचारीहरुलाई निर्देशन दिँदै नमान्नेहरुलाई फाल्ने चेतावनी दिएका छन् । चाडपर्वको अवसरमा नेकपा रुपन्देहीले बुटवलमा शनिबार गरेको शुभकामनासभामा प्रचण्डले यस्तो चेतावनी दिएका हुन ।

उनले संघीयता कार्यान्वयनमा कर्मचारीतन्त्रले अटेरी देखाइरहेको भन्दै त्यस्ता कर्मचारीलाई फाल्न समेत तयार हुनुपर्ने बताए। प्रचण्डले भने, ‘राजनीतितन्त्रमा संघीयता आयो, कर्मचारीमा अझै अटेरीछ। तिनीहरुलाई सम्झाउने बुझाउने हो । नबुझेर पछि नै फर्किन चाहानेलाई फाल्न समेत पछि पर्नुहुँदैन ।

कम्युनिस्ट पार्टीको बहुमत सरकार कसैले दया गरेर नबनेको भन्द्र उनले १४ वर्षको कठोर कारबास र १४ वर्षकै वनबासको क्रान्तिबाट अहिलेको सफलता हाल मिलेको तर्क गरे ।

दुई कम्युनिस्टको एकताबाट समृद्ध मुलुक निर्माण गर्ने राजनीतिक पूर्वाधार बनेको प्रचण्डको भनाई थियो । उनले प्रतिक्रियावादीको अवरोध र षडयन्त्रकाबीच पार्टी एकता भएको भन्दै भने, ‘ओलीजीले कठोर १४ वर्ष जेल सहनुभयो, मैले १४ वर्षजति नै भूमिगत जीवन बिताएँ, यो परिवर्तन र उपलब्धि त्यसैको उपज हो ।’

प्रचण्डले कम्युनिस्ट पार्टीको एकता विश्वकै लागि ऐतिहासिक भएको भन्दै पार्टी एकता हुँदैन भन्नेलाई झट्का लागेको बताए । उनले पार्टी एकतापछि सरकार असफल हुन्छ भन्ने प्रतिक्रियावादीको मनोविज्ञान फेल गराउदै सरकारले अब रफ्तार लिने दाबी समेत गरे।

पार्टी एकता र सरकार सञ्चालन तथा संघीयता कार्यान्वयन एक साथ अघि बढ्ने प्रचण्डको भनाई छ । उनले प्रदेश नम्बर ५ विकासको रोलमोडल भएको र संघीय सरकारलाई उछिनेर कुनै कानुन निर्माण नगर्ने विश्वास गरे। प्रदेश २ ले जस्तो ओभरटेक गर्ने काम प्रदेश ५ का मुख्यमन्त्रीबाट नहुने प्रचण्डको विश्वास छ ।

नेकपाका महासचिव विष्णु पौडेलले समृद्ध देश निर्माणका लागि दुई पार्टीको एकता भएको भन्दै आफ्नो पार्टीले देशलाई विश्वका विकसित मुलुकका दाजोमा पुराउन अघि बढेको जिकिर गरे । नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेलले व्यवस्था परिवर्तनको चरण भएकाले केही समय अलमलजस्तो देखिए पनि मुलुक विकासमा अघि बढेको बताए।

नेकपाका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, चक्रपाणी खनाल, ओनसरी घर्तीलगायतले बोलेको सो कार्यक्रममा रुपन्देहीसहित आसपासका जिल्लाका सयौं सहभागी थिए ।

Advertisement

Advertisement

Advertisement