बर्खामा पहिरोले क्षति पुर्याएपछि मैलुङ–स्याफ्रुबेसी सडकको फेरि डीपीआर गर्नुपर्ने

Advertisement

बेत्रावती । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजना अन्तर्गत मैलुङ–स्याफ्रुबेसी सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) फेरि तयार गर्नुपर्ने भएको छ ।

नेपाली सेनाले ट्रयाक खोल्ने काम गत चैत ३० मा पूरा गरी जेठ ६ गते हस्तान्तरण गरेपछि तयार गरेको डिपिआर प्रतिवेदन बर्खाका समयमा पहिरोले क्षति पु¥याएपछि त्यसको पुनः विवरण सङ्कलन गर्नुपर्ने भएको आयोजना प्रमुख सुबोध देवकोटाले जानकारी दिए ।

उनकाअनुसार बर्खा अघि नै डीपीआर तयार गरी विश्लेषण पश्चात ठेक्काका तयारीमा रहेको सडकको हाल दर्जनभन्दा बढी स्थानमा पहिरोले क्षति पुर्याएको छ । “तिहारपछि फेरि शुरु गरिने डीपीआरमा पहिरोले क्षति पुगेको स्थानको मात्र लगत सङ्कलन गरिने छ ।”

आयोजना प्रमुख देवकोटाले भने, “त्यसको लागि दुई साताभित्र सक्ने लक्ष्य बनाइएको छ ।” नेपाली सेनाले विसं २०७२ वैशाख १ देखि शुरु गरेको उक्त सडकखण्ड तीन वर्ष लगाएर पूरा गरेको हो । १८ किमि दूरीको सडकको अधिकांश स्थानमा दुई लेन हुने गरी चट्टान फोरेर ट्रयाक खोलिएको छ ।

‘गल्छी–रसुवागढी’ सडकको पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको बेत्रावती–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्धारसम्म पुग्न सबैभन्दा छोटो दूरीको रुपमा यो सडकखण्डलाई लिइन्छ । यो सडकको दूरी गल्छीदेखि रसुवागढीसम्म ८२ किमि पर्दछ ।

यो सडक अन्तरगत बेत्रावतीबाट स्याफ्रुबेसी पुग्न मैलुङहुँदै जादाँ धुञ्चेबाटभन्दा २४ किमि दूरी कम पर्दछ । आयोजना प्रमुख देवकोटाकाअनुसार पासाङल्हामु राजमार्गको बेत्रावतीबाट कालिकास्थान धुन्चेहुँदै स्याफ्रुबेशीपुग्न ५३ किमी पर्छ भने बेत्रावतीबाट मैलुङहुँदै स्याफ्रुबेसी पुग्न २९ किमि दूरी मात्र पर्दछ । सडक विस्तार अन्तरगत आयोजनाका समग्र काम हाल ३० प्रतिशत पूरा भएको छ ।

Advertisement

Advertisement

Advertisement