भोलिदेखि सेयर कारोबारमा अनलाइन प्रणाली, यो नयाँ फड्को होः पौडेल

Advertisement

काठमाडौं । धेरै समयदेखि चर्चा र प्रतिक्षाको विषय बनेको सेयर कारोबारलाई अनलाइन प्रणालीमा लाने कुराले करिव पूर्णता पाएको छ । मंगलबारदेखि यसको औपचारिक शुभारम्भ हुँदैछ ।

अर्थमन्त्री युवराज खतिवडाले बिहान साढे १० बजे याक एण्ड यति होटेलबाट अनलाइन प्रणालीको विधिवत् उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

यसै सिलसिलामा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले स्टक ब्रोकर तथा लगानीकर्ताहरुलाई तालिम (मक ट्रेनिङ) दिनुका साथै अनलाइन कारोबारको डेमोसमेत गरिसकेको छ ।

नेप्सेका अनुसार केही समयका लागि अनलाइन प्रणाली र हाल कारोबार भइरहेको परम्परागत प्रणाली दुवै सञ्चालन गरिनेछ ।लगानीकर्ता अभ्यस्त भएपछि मात्र अनलाइन प्रणाली मात्रै कार्यान्वयनमा आउनेछ ।

यसबीचमा अनलाइन कारोबारमा आउने समस्याहरुको पहिचान र समाधान गरिने नेप्सेले जनाएको छ । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेलले ढिलै भए पनि नेप्सेले एउटा फड्को मारेको बताउँछन् ।

उनले अनलाइन प्रणाली सञ्चालनका लागि तयारी पनि राम्रै गरेको देखिएकोले समस्या धेरै नआउने आफूहरुको विश्वास रहेको बताए । पौडेलले सानातिना समस्यालाई क्रमसः समाधान गर्न सकिने भन्दै महत्वपूर्ण कुरा अनलाइनमार्फत कारोबार गर्न सकिने अवस्था लगानीकर्तादेखि समग्र सेयर बजारको लागि खुशीको विषय भएको बताए ।

Advertisement

Advertisement

Advertisement