बेच्न लगिएको अवस्थामा यूपीबाट ३७ नेपाली युवतीको उद्दार, बेचिएका तीनको कोठीबाट उद्दार

Nepali-woman-Trafficking-delhi

काठमाडौं । भारतका विभिन्न वेश्यालयमा बेच्न लगिएका ३७ नेपाली युवतीको भारत उत्तर प्रदेशको एक होटलबाट उद्दार गरिएको छ । गाजियावादको इन्द्रपुरमस्थित एक होटलमा थुनेर राखिएको अवस्थामा उनीहरुलाई उद्दार गरिएको हो।

उनीहरुबाहेक अन्य तीनजनालार्इ दिल्लीको एककोठीबाट उद्दार गरिएको छ । दिल्ली र यूपीबाट उद्दार गरिएका सबै चेलीलार्इ माइती इन्डियाको टोलीले नेपालगञ्जस्थित माइती नेपालको कार्यालयलार्इ जिम्मा लगाएको छ।

नेपालस्थित भारतीय दूतावासको समन्वयमा उत्तर प्रदेश प्रहरीको सहयोग लिएर उद्दार गरिएका उनीहरु सिन्धुपाल्चोक, कञ्चनपुर, बाँके, रुकुम, उदयुर, काठमाडौं, दाङ, इलाम, तेह्रथुम, उदयपुर, कपिलवस्तु, दैलेख, मोरङ लगायतका जिल्लाका रहेको माइती नेपालले जनाएको छ।

उद्दार गरिएकामध्ये घर जान चाहने चेलीलार्इ घर पठाउने र जान नचाहनेलाई सीपमूलक तालिम दिने सेन्टरमा राखिने छ ।

दलालीमा भारतीय र नेपाली दलालको मिलेमतो
नेपाली चेली भारतको कोठीमा सप्लाइ गर्ने काममा तीन भारतीय र दुई नेपाली गरी पाँच जनाको गिरोह सक्रिय रहेको माइती नेपालले जनाएको छ । उनीहरुले एक नेपाली चेली भारतको कोठीमा पुर्याएबापत चार लाख लिने गरेको उद्दारकर्मीहरुले बताएका छन्।

गिरोहले नेपाली चेलीलार्इ दुर्इ दिनदेखि दुर्इ महिनासम्म यूपीमा राखेर दिल्लीको कोठी र खाडी मुलुक पुर्यार्उने गरेको माइती भारतका बालकृष्ण पाण्डे जानकारी दिएका छन् । गिरोहको नेतृत्व भारतीय दलालले गर्नेगरेका छन् । उनीहरु सबैलाई प्रहरीले पक्राउ गरिसकेको तर नेपाली दलालहरु भने फरार रहेको जनाइएको छ ।