मेयर विद्यासुन्दरको दाबी– ‘पाँच वर्षमा गर्ने काम मैले डेढ वर्षमा गरिसकें’

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफू मेयरमा निर्वाचित भएर काम सुरु गरेको यो डेढ वर्षको अवधिमा धेरै काम सम्पन्न गरिसकेको दावी गरेका छन् ।

रिपोर्टर्स क्लवमा सोमबार उनले भने, ‘म मेयर भएको अहिले १७ महिना पूरा भएर १८ महिना लाग्यो । यो अवधिमा हामीले धेरै कुराहरु सिकेका छौं । हिजोभन्दा आज धेरै कामहरु भएका छन् । यथार्थ धरातलमा रहेर समिक्षा गर्नुपर्छ ।’

मेयर शाक्यले सडकको पूर्ननिर्माण भइसकेको पनि जनाए । उनले भने, ‘यो आर्थिक वर्षलाई हामीले पूर्वाधार वर्ष घोषणा गरेर अघि बढेका छौं । महानगरले जिम्मा पाएको सहायक सडकहरु बनाउने काम लगभग पूरा भएको छ । सडक बनाउने कामको लागि अब पाँच वर्ष पर्खिनुपर्दैन् ।’

उनले आफू आएपछि ६० प्रतिशत काम सम्पन्न भइसकेको दाबी गरे । शाक्यले पूर्ननिर्माणसम्बन्धी कामहरुमा सम्पदा पूर्ननिर्माणको दुई चार वटा कामहरु बाँकी रहेको सुनाए । उनले भने, ‘धरहराको काम सुरु भइसकेको छ । दरबार हाईस्कुल पूर्ननिर्माण सुरु भैसक्यो । रानीपोखरी र काष्ठमण्डप मन्दिरको पनि काम सुरु हुन्छ । काठमाडौं महानगरको भवन निर्माणको पनि काम छिट्टै सुरु हुन्छ । विवादको कारण काम सुरु हुन नसकेको हो ।’

मेलम्ची खानेपानी परियोजनाको काम र सडक विस्तारको कामले गर्दा काम गर्न केही अप्ठ्यारो भएको उनले गुनासो सुनाए । शाक्यले भने, ‘जोरपाटीमा फोहोर थुप्रियो भने पनि काठमाडौंको मेयरलाई गाली गरिन्छ, सितापाईलाको सडक हिलाम्य भयो भने पनि काठमाडौंको मेयरलाई गाली गरिन्छ । सानेपाका सडक धुलाम्य भयो भने पनि काठमाडौंको मेयरलाई गाली गरिन्छ । त्यहाँ नगरपालिकाहरु छन् नि । सडक विस्तारको कामले काठमाडौं धुलोमैलो भएको छ । हामीले काठमाडौंलाई धुलोमुक्त बनाउँछौं भनेका थियौं । मेलम्चीले आफ्नो काम तत्काल सम्पन्न नगर्दा त्यसको प्रत्यक्ष असर काठमाडौं महानगरलाई परिरहेको छ ।’

उनले काठमाडौंका सम्पदा पुर्ननिर्माणमा महानगरले कुनै कसर बाँकी नराखेको पनि सुनाए । शाक्यले भने, ‘काष्ठमण्डप, धरहरा र रानीपोखरीको निर्माण काम छिटो सुरु हुन्छ । यी सम्पदाहरु छिटो बनिदियोस भनेर आवाज उठिरहेको छ ।’ प्रदेश र संघीय सरकारले गर्नुपर्ने काम पनि काठमाडौं महानगरले गरिरहेको बताउँदै उनले यसको लागि सरकारले आफूहरुलाई धन्यवाद दिनुपर्ने धारणा राखे ।

उनले भने, ‘फोहोर मैलाको सवालमा अर्को वर्षासम्म काठमाडौं हिलो नहुनेगरि हामीले काम गरिरहेका छौं । सुरुका केही दिन र केही समय धेरै अन्यौल भयो ।’ काठमाडौंका विभिन्न सडकहरुमा फोहोर थुप्रिँदा यसबारेमा काठमाडौंको मेयर र महानगरपालिकालाई भन्नु स्वभाविक भएको उल्लेख गर्दै उनले भने, ‘जोसँग आशा छ, जसलाई विश्वास गरिन्छ । उसैले भन्ने हो । तर, काठमाडौं महानगरपालिकाले आफ्नो मात्रै हाईन, प्रदेश र संघीय सरकारको पनि काम गरिरहेको छ । उहाँहरुले गर्नुपर्ने दायित्व पूरा गरिरहेका छौं । अहिले सिसडोलमा काठमाडौं महानगरपालिकाको मात्रै होईन, काठमाडौं जिल्लाको १८ वटा नगरपालिकाहरुको फोहोर जान्छ । काभ्रेको फोहोर त्यहाँ जान्छ, धादिङको फोहोर त्यहाँ जान्छ । के सबैको जिम्मेवारी काठमाडौं महानगरपालिकाको मेयरको हो र ? होईन नि । तर, नहुँदा नहुँदै पनि काठमाडौं महानगरपालिका पूरानो र धार्मिक सोच भएको सहर, राजनीतिक सहर भएको नाताले प्रदेश र संघीय सरकारले गर्नुपर्ने काम हामीले गर्दै आईरहेका छौं ।’

काठमाडौं महानगरले फोहोरको व्यवस्थापन गर्न छोडिदिने हो भने सिँगो काठमाडौं उपत्यका दुर्गन्धित हुने शाक्यको भनाई छ । उनले थपे, ‘उपत्यकामात्रै होइन, काभ्रे, नुवाकोट र धादिङपनि दुर्गन्धित हुन्छ । हामी त्यसको भएको हेर्न चाहँदैनौं । हामी गाली खाएर आफ्नो दायित्व पूरा गर्न चाहन्छौं । लामो समयपछि हामीले उपत्यका नगरपालिका फोरम गठन गरेका छौं । अब उपत्यकाको फोहोर व्यवस्थापन, सडक व्यवस्थापन र उपत्यकाका साझा नदिहरुको व्यवस्थापनलाई एकीकृत रुपमा अगाडि बढाउनुपर्छ भनेर हामीले फोरम बनाईसकेका छौं ।’

सम्बन्धित मन्त्रालयका सचिवहरुसँग लामो छलफलपछि बञ्चरे डाँडो कसले बनाउने ? सेन्ट्रल ल्याण्डफिल्ड कसले बनाउने ? भन्नेबारे टुँगो लागिसकेको पनि शाक्यले जनाए । उनले भने, ‘त्यसको लागि हामीले तीन वटा निर्णय गरेका छौं । पहिलो निर्णय भनेको बञ्चरे डाँडो नै अन्तिम गन्तव्य हो । सिसडोलमा अहिले हामी फोहोर फाल्न सक्दैनौं । बढिमा तीन महिनापछि अब त्यो फोहोर बञ्चरे डाँडोमा लैजानुपर्छ । त्यसको लागि चाहिने बाटो, पूर्वाधारहरु नेपाल सरकारले बनाउनुपर्छ भनेर हामीले भनेका थियौं । अहिले धमाधम डिपिआरको काम भैरहेको छ ।’

त्यस्तै शाक्यले तीन पिप्लेदेखि बञ्चरे डाँडासम्मको सडक कसले बनाउने भन्नेबारे पनि आफूहरुले छलफल गरिसकेको बताए । उनले भने, ‘कमसेकम अब यो बाटो दुई लेनको बनाउनुपर्छ । यसबारेमा पनि हामीले निर्णय लिइसकेका छौं । यो बनाउने जिम्मा पनि संघीय सरकारले लिइसकेको छ । अर्को भनेको बालाजुदेखि तिनपिप्लेसम्मको पासाङ ल्हामु राजमार्ग बनाउने कुरा हो । अब कार्यान्वयन सुरु हुन्छ ।’

काठमाडौं महानगरले बजेट बनाउँदा जथाभावी कर उठाउन लागेको भनेर भ्रम फैलाईएकोप्रति आक्रोश पोख्दै शाक्यले भने, ‘हामीले करको दर भन्दापनि करको दायरा बढाएका छौं । कर भन्ने कुरा करले तिर्ने होइन, कर त रहर तिर्ने हो । नैसर्गिक अधिकारयुक्त अधिकारका काम गर्न सबै दस्तुत हामीले मिनाहा गरेका छौं ।’ यसबारेमा आफूहरुले जनतामा सूचना प्रवाह गर्न विभिन्न पत्रपत्रिकाहरुमा सूचना प्रकाशित गरेको उनले जनाए ।

हालै सम्पन्न नगरसभाको निर्णयले पुर्ननिर्माणको लागि मापदण्ड संशोधन गरेको पनि उनले सुनाए । यद्यपी संशोधित मापदण्डमा आफूहरुले स्मारक संरक्षणभित्रलाई भने नछोएको दावी गरे । शाक्यले भने, ‘त्यो बाहेकका क्षेत्रलाई मात्रै हामीले छोएका छौं । धेरै जसो बनेका घरहरु अहिलेपनि कञ्चा छन् । अढाई तलाको नक्शा पास गरेर सात तलाको घर बनाईएका छन् । यस्ता घर भत्काएका हौं । हामीले अहिले ७ र ८ तलासम्म बनाउन पाईनेगरि मापदण्ड बनाएका छौं ।’

त्यस्तै शाक्यले मोनो रेल चलाउनेबारे सम्भाव्यता अध्ययन पूरा भइसकेको र अहिले प्राविधिक अध्ययनको काम जारी रहेको बताए । उनले भने, ‘नेपालमा मोनो रेल विज्ञ कोही छैनन् । हामीले बुट मोडलमा बनाउने तयारी गरेका छौं ।’ शाक्यले महानगरले चाँडै काठमाडौंका विभिन्न ठाउँहरु खासगरी नाकाहरुमा पार्किङ भवन बनाउनेपनि तयारी गरिरहेको जनाए । शाक्यले भने, ‘यसको लागि ठेक्का प्रक्रिया सुरु भैसकेको छ ।’ महानगरले जिआईएस डाटा कलेक्शनको लागि २२ करोड रुपियाँ विनियोजन गरिसकेको पनि शाक्यले बताए ।

काठमाडौंलाई स्वच्छ, धुवाँ र धुलोमुक्त सहर बनाउनको लागि महानगरले जेट र ब्रुमरजस्ता आवश्यक उपकरण खरिद भैसकेको जनाउँदै उनले भने, ‘अहिले पाँच वटा ब्रुमर आउने प्रक्रियामा छन् । अहिले मासिक २५ करोड रुपियाँ सफाईका कर्मचारीको लागि खर्च भैरहेको छ । तर, पनि काठमाडौं सफा भैरहेको छैन् ।’

आपराधिक घट्ना घट्न नदिनको लागि नेपाल प्रहरीसँगको सहकार्यमा काठमाडौं महानगरले सिसी क्यामेराको व्यवस्थापन गर्ने पनि शाक्यले जनाए । काठमाडौंको फोहोरमैला व्यवस्थापनबारे काठमाडौं महानगरलगायत उपत्यकाका नगरपालिकाहरु र लगानी बोर्डबीच समझदारी पत्रमा हस्ताक्षर भोलि नै गर्ने भनिएको छ ? के सहमति भएकै हो त ? भनेर सोधिएको प्रश्नमा उनले भने, ‘अहिले हामीसँग एक हजार छ जना फोहोरसम्बन्धी कर्मचारीहरु छन् । उनीहरुको उचित व्यवस्थापन हुनुपर्छ भनेर हामीले माग गरेका छौं । नत्र भोलि समस्या हुनसक्छ । हामीसँग भएका जेट तथा ब्रमुर मेसिनहरु छन् । उहाँहरुले हाम्रो उपकरण किन्नुपर्छ । यदि नकिन्ने हो भने लिजमा लैजानुपर्छ ।’

Advertisement

Advertisement

Advertisement