विदेशी व्यापारीहरुले नेपाली चिया सस्तोमा किनेर आफ्नो ब्राण्डमा बेच्ने काम गर्दैछन्ः मोर

Advertisement

काठमाडौं । नेपालउद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष सतिषकुमार मोरले चियाको उत्पादन तथा बजारीकरण बढाउन श्रम सम्बन्धी कानुनलाई लचिलो बनाउन सके नेपालको समृद्धिमा चियाको निर्यातले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठनको उन्नती परियोजनाअन्तर्गत परिसंघले सञ्चालन गरिरहेको एड्भोकेसी फर गुड कर्पोरेट गभन्र्यान्स परियोजनामार्फत चियासम्वन्धी कार्यक्रममा उपाध्यक्ष मोरले चियाको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्नुपर्ने बताए ।

नेपाली चियालाई बाह्य देशका व्यापारीहरुले सस्तोमा खरिद गरेर त्यहाँको ब्राण्डबाट अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने गरेको भन्दै यसलाई रोक्न र नेपाली ब्राण्डकै चिया अन्तर्राष्ट्रिय बजारमा निर्यात गरिनुपर्ने बताए ।

सोही अवसरमा अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका राष्ट्रिय कार्यक्रम संयोजक नविन कर्णले कार्यक्रमको उद्देश्य र महत्वको बारेमा प्रकाश पार्दै नेपाली चिया गुणस्तरीय हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय बजारमा छिमेकी देशको चियाको तुलनामा कम मुल्य प्राप्त गरेको, यसको कारण अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तयार हुन नसक्नु र चिया विकासका लागि स्थानीयस्तरमा बहुकर प्रणाली बाधक भएको कुरा बताए ।

कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै राष्ट्रिय श्रम प्रतिष्ठानका अध्यक्ष डा. शिव शर्माले चिया उत्पादनमा स्थानीय भूमि, श्रम र कच्चा पदार्थ प्रयोग हुने भएकोले चिया किसानलाई सरकारद्वारा प्रोत्साहन गरिनुपर्ने कुरामा जोड दिए । चिया विकासका लागि चिया खेती हुने भूमि अन्य भूमिमा परिणत गरिन नहुने, चियाको पकेट क्षेत्र स्थापना गर्न सके चिया खेतीको विकासमा उल्लेख्य प्रगति हुन सक्ने बताए ।

नेपाल चिया तथा कफी विकास बोर्डका उप–निर्देशक रघुपति चौधरीले नेपालको चिया निर्यातको मुख्य गन्तब्य भारत, जर्मनी, रुस र अमेरिका भएको जनाउँदै नेपाल चिया तथा कफी विकास बोर्डले अन्तर्राष्ट्रिय बजारमा आफ्नो निर्यात विस्तारको लागि लोगो विकास गरिसकेको पनि जानकारी गराए ।

Advertisement

Advertisement

Advertisement