प्रदर्शनको १७ दिनमा ‘बधाई हो’ ले कमायो सय करोड

आयुष्मान खुराना र सान्या मल्होत्रा स्टारर फिल्म ‘बधाई हो’ ले भारतीय बक्सअफिसमा सय करोडको आँकडा पार गरेको छ । यो सँगै उक्त फिल्म सय करोड कमाउने वर्षको दशौं फिल्म बनेको छ । फिल्मले प्रदर्शनको १७ दिनमा यो सफलता चुमेको हो ।

यसभन्दा अगाडि यस वर्ष सय करोड क्लबमा केही ठूला बजेटका फिल्म त केही कम बजेटका फिल्म सामेल छन् । यस वर्ष सञ्जय लीला भंसालीको फिल्म ‘पद्मावत’ यो क्लबमा सबैभन्दा अगाडि इन्ट्री भएको थियो । फिल्मले घरेलु बजारबाटै तीन सय करोड कमाएको छ ।

nic-asia

यसपछि राजकुमार हिरानीको फिल्म ‘सञ्जू’, ‘बागी २’, ‘रेस ३’, ‘गोल्ड’, ‘स्त्री’, ‘सोनू के टीटू की स्वीटी’, ‘राजी’ जस्ता फिल्मले पनि सानदार प्रदर्शन गर्दै सय करोडभन्दा बढी कमाउन सफल भएका थिए । अघिल्ला वर्षभन्दा यस वर्ष बलिउड फिल्मको व्यापार निकै राम्रो देखिएको छ ।

‘बधाई हो’ को कुरा गर्ने हो भने क्रिटिक्स र दर्शकले फिल्मलाई निकै रुचाएका छन् । नीना गुप्ता, गजराज रावको पनि प्रमुख भूमिका रहेकोे यो फिल्म २० करोडमा निर्माण भएको हो । फिल्मको सफलतासँगै आयुष्मान बलिउडका शक्तिशाली अभिनेतामा दरिएका छन् ।