व्यापारीले होइन आफूहरुले कुखुराको मूल्य निर्धारण गर्न पाउनुपर्ने कुखुरा पालक किसानको माग

Advertisement

काठमाडौं । नेपाल बोइलर कुखुरा पालक तथा उत्पादक संघले कुखुरा व्यवसायी संघले आफुखुशी जिउँदो कुखुराकोे मूल्य निर्धारण गर्दा उत्पादक किसानलाई ठूलो मर्का परेको भन्दै यसबारेमा सरकारको ध्यानाकर्षण गराएको छ ।

सोमबार पत्रकार सम्मेलन गरेर कुखुरा पालक संघले विदेश नगई स्वदेशमै केही गरांै भन्नेहरुलाई सरकारले बेवास्ता गरेको भन्दै कुखुरा व्यवसायी संघले आफुखुशी बेला–बेलामा मूल्य तलमाथि गरिरहँदा वास्तविक किसानहरुले आफ्नो उत्पादनको उचित मूल्य नपाएको गुनासो गरे ।

कुखुरा पालक संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले किसानले बिक्री गर्ने उत्पादनलाई आफूहरुकै संघबाट मूल्य निर्धारण गर्नुपर्ने माग गरे । उनले दानाको मूल्य नेपाल दाना उद्योग संघले निर्धारण गरेझै र चल्लाको मूल्य नेपाल ह्याचरी संघले गरेजस्तै कुखुराको मूल्य पनि किसानको संघले निर्धारण गर्न पाउनुपर्ने उनको माग छ ।

वास्तविक किसानको परिश्रमलाई खोर र काँटामा नगरी ‘कोल्ड स्टोर’मा आफूखुशी मूल्य निर्धारण हँुदा किसानहरु मर्कामा परेका श्रेष्ठको भनाई छ । सरकारले बेलैमा यो बिषयमा गम्भीर चासो नदेखाए भोलि गएर भारतमाझैं नेपालमा पनि किसानहरु आत्महत्या गर्न बाध्य हुनुपर्ने उनको भनाई छ ।

नेपालमा खोर दर्ता गर्दा झन्झटिलो सरकारी प्रक्रियाको कारण किसानले आफ्नो फार्म दर्ता गर्न नपाएको पनि श्रेष्ठको गुनासो छ । फार्म दर्ता गर्न नपाउँदा कुखुराको बीमाको बारेमा पनि अगाडि बढ्न नसकेको उनले बताए । श्रेष्ठले भने, ‘यही कारणले गर्दा खाडी मुलुकबाट नेपाल फर्केपछि ढुक्कले कुखुरापालन व्यवसायमा लाग्नसक्ने अवस्था पनि अहिले छैन ।’

पीडित किसान सुवास न्यौपानेले ‘कोल्ड–स्टोर’ मा कुखुराको जोखनी हुने काम भएकाले कोल्डस्टोरका मालिकले भनेकै मूल्यमा पसलमा कुखुरा छोड्न आफूहरु बाध्य भएको गुनासो पोखे ।

विदेशबाट आयातित मासुको निश्चित् मूल्य निर्धारण भए पनि नेपालमै उत्पादित कुखुराको हकमा भने कुनै नियम लागु नभएको न्यौपानेको आक्रोश छ । त्यस्तै कार्यक्रममा किसानको तर्फबाट बोल्दै रोशनकुमार सिंहले सुनको भन्दा पनि कुखुराको खरिद मूल्य चाँडै परिवर्तन हुने गरेको गुनासो पोखे ।

देशमा ‘सिस्टम’को अभावमा कुखुरा उत्पादकले सरकालाई कर तिर्दा पनि समस्याको बारेमा सरकार मौन रहेको भन्दै सिंहले आपत्ति जनाए । दाना र चल्लाको मूल्य संघले तोके पनि आफूहरु उत्पादकहरुको परिश्रमको मूल्य त्यसै पसिनामा खेर बगिरहेको काठमाडौं सुन्दरीजलमा कुखुरा व्यवसाय गरिरहेका किसान नवराज अधिकारी गुनासो पोखे ।

Advertisement

Advertisement

Advertisement