पोखरा प्रिमियर लिगको आज फाइनलः चितवन र पोखरा भिड्दै

Advertisement

पोखरा । तेस्रो फ्रेन्चाइज टी–२० क्रिकेट प्रतियोगिताको पहिलो संस्करण नमस्ते पोखरा प्रिमियर लिगको उपाधि चुम्न आज पोखरा पल्टन र चितवन राइनोज भिड्दैछन् ।

सर्वाधिक राशिको फ्रेन्चाइज क्रिकेटको उपाधिका लागि भइरहेको आजको खेलमा चितवनको नेतृत्व पारस खड्काले गर्दैछन् भने पोखराको नेतृत्व शरद भेषावकरले गर्दैछन् । घरेलु टिम पोखराले लिग चरणको अन्तिम खेलमा काठमाडौं रोयल्सलाई पराजित गर्दै शीर्ष स्थान हात पारेर फाइनल प्रवेश गरेको थियो भने चितवनले इलिमिनेटर खेलमा काठमाडौंलाई पराजित गरेर फाइनलसम्मको यात्रा गरेको हो ।

दुवै टोलीमा विदेशी खेलाडीको प्रदर्शन पनि निकै राम्रो देखिएको छ । पोखराका लागि युएइका तीव्र गतिका बलर मोहम्मद नाभेद र भारतीय खेलाडी रविन्दर सिंह, चितवनका लागि सन्नी पटेललगायतले खेलिरहेका छन् ।

उपाधि जित्नेमा दुवै टोली आशावादी र विश्वस्त छन् । पोखराका कप्तान शरद भेषावकरले लिग चरणमा चितवनलाई पराजित गरेकाले फाइनलमा पनि हराउने दाबी गरेका छन् चितवनका कप्तान पारस खड्काले पोखराको कमजोरीलाई केलाउँदै त्यस्तै रणनीति अख्तियार गर्ने बताएका छन् ।

लिग चरणमा चितवन पोखरासँग पाँच विकेटले पराजित भएको थियो । फाइनलमा त्यसको बदला लिने दाउमा चितवन देखिन्छ । क्विन्स इभेन्ट म्यानेजेमन्ट प्रालिको आयोजना तथा विभिन्न प्रायोजकको प्रायोजन रहेको पोखरा प्रिमियर लिगको विजेताले २७ लाख रुपियाँ पाउनेछ । उपविजेताले १० लाख रुपियाँ पाउनेछ । तीन खेलाडी म्यान अफ दि सिरिज, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले सुजुकी कम्पनीको मोटरसाइकल प्राप्त गर्नेछन् । इमर्जिङ प्लेयरले नगद ५१ हजार रुपियाँ प्राप्त गर्नेछन्।

Advertisement

Advertisement

Advertisement