एक महिनाअघि सरकारको कटु आलोचना गरेका माधव नेपालले अहिले मुक्तकण्ठले प्रसंशा गरे

Advertisement

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव नेपालले अहिले प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्नेबारे सोच्नै नसकिने बताएका छन् । करिव एक महिनाअघि संसदमा बोल्दै सरकारको कटु आलोचना गरेका उनले बुधबार रिपोर्टर्स क्लबको देउसी–भैलो कार्यक्रममा भने सरकारको मुक्तमण्ठले प्रसंशा गरे ।

नेता नेपालले भने, ‘अहिले उहाँको विकल्प खोज्ने कुरा सोच्नै सकिन्न । यो सरकारले काम गरेर देखाउँछ । मैले प्रधानमन्त्रीसँग पटक–पटक कुरा गरेको छु । उहाँमा आत्मविश्वास छ । मसँग उहाँले कमिटमेन्ट गर्नुभएको छ । मैले भनेको छु, हामी छौं अरुको कमिकमजोरी आलोचना गर्न । तपाई ढुक्क भएर सरकार सञ्चालन गर्नुहोस् । यदि कमिकमजोरीहरु भएका छन् भनेपनि सुधार गरेर जानुपर्छ ।’

भ्रष्टाचार अन्त्य गर्ने कुरामा वर्तमान सरकार सफल हुने पनि उनको दाबी छ । नेता नेपालले भने, ‘केपी ओलीको सरकार भनेको नेकपाको सरकार हो । कम्युनिष्ट पार्टीको सरकार हो । यसको अगुवाई ओलीजीले गर्नुभएको छ । यो सरकार असफल भयो भने सिँगो पार्टी असफल भएको देखिन्छ । यो सरकारसँग भिजन छ । संकल्प छ । यसले आफ्ना प्राथमिकताहरु निर्धारण गरेको छ । भएका साधन र स्रोतको उपयोग कसरी गर्ने भन्नेपनि प्रधानमन्त्रीजीसँग स्पष्ट सोच छ ।’

उनले प्रधानमन्त्रीले अब कर्मचारीतन्त्रलाई पनि त्यही ढंगले परिचालन गर्नुपर्ने धारणा राखे । नेता नेपालले भने, ‘मन्त्रीहरुलाई परिचालन गर्न पार्टी बलियो हुनुपर्छ । पार्टीले सबै ठाउँमा आफ्नो ध्यान दिनुपर्छ । आफ्नो पार्टीका गतिविधिहरुलाई निरीक्षण गर्नुपर्छ । अनुगमन गर्नुपर्छ । सरकारको काम पनि अनुगमन गर्नुपर्छ । निर्माण व्यवसायीहरुले काम गरिरहेका छन् कि छैनन् भनेर अनुगमन गर्नुपर्छ । राम्रो गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्नुपर्छ ।’

अब देशमा विकास कसरी हुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘विकास अहिले देशको आवश्यकता हो । विकास देशको उन्नति र प्रगतिको लागि आवश्यक छ । राजनीतिक क्रान्ति भैसकेपछि अब विकासको लागि सम्पूर्ण ध्यान आर्थिक क्रान्ति, सामाजिक, साँस्कृतिक आर्थिक रुपान्तरणप्रति छ । सरकारले आफ्नो काम त्यहीअनुसार गरिरहेको छ ।’

नेता नेपालले विकास भनेको समष्टिगत विकास पनि भएको बताउँदै भने, ‘विकास र समृद्धिको लागि दुई वटा पूर्वाधारमा ध्यान दिनुपर्छ । एउटा मानवस्रोत । हामीले दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ । अनि, दोस्रो भनेको भौतिक पूर्वाधार हो । बाटाघाटाहरु, विजुली चाहिन्छ । यो बीचमा अनेकन काममा सरकार जुट्नुपरेको थियो । विम्स्टेकजस्ता क्षेत्रिय फोरममा हामी जुट्यौं । संयुक्त राष्ट्रसंघमा उपस्थिति जनाऔं । अब विकास तथा निर्माणका कामहरु द्रुत गतिमा अघि बढ्छन् ।’

गाउँदेखि केन्द्रसम्म एकतामा अन्यौलता देखिएको छ नि ? भनेर सोधिएको अर्को प्रश्नमा उनले भने, ‘यही महिनामा एकता सम्पन्न गर्ने योजना थियो । तर, प्रधानमन्त्रीजी विरामी हुनुभयो । उहाँ स्वस्थ भएर आएपछि सबै कुरा टुँगो लाग्छ । गाउँदेखि केन्द्रसम्मको एकता टुँगो लगाउँछौं । जनवर्गीय संगठनको एकतापनि टुँगो लगाउनुपर्छ ।’

स्थायी समिति बैठक बस्न नसक्नुमा पनि प्रधानमन्त्रीको अस्वस्थता नै कारण रहेको उनको स्पष्टोक्ति थियो । नेता नेपालले भने, ‘सचिवालय र स्थायी समिति बैठक बस्ने योजना थियो । तर, उहाँ (प्रम) एक्कासी विरामी हुनुभयो, अब उहाँ आरामपछि फिट भएर आएपछि बैठक बस्छ ।’

Advertisement

Advertisement

Advertisement