म्याग्दीका किसानलाई उन्नत जातको गहुँको बीउ बितरण सुरु

Advertisement

गलेश्वर । म्याग्दीको मङ्गला गाउँपालिकाले किसानलाई अनुदानमा उन्नत जातको गहुँको बीऊ वितरण शुरु गरेको छ । म्याग्दीमा खाद्यान्न बालीमा दोस्रो स्थान ओगट्दै आएको गहुँ खेतीमा गाउँपालिका भित्रका किसानलाई आकर्षित गर्न गौतम जातको उन्नत बीउ वितरण शुरु गरिएको गाउँपालिका अध्यक्ष शतप्रसाद रोकाले बताए ।

“पहिलो चरणमा १५ सय केजी बीउ वितरण भइसकेको छ, सूचनाबाट वञ्चित भएकालाई थप वितरण गर्न सकिन्छ”, रोकाले भने । उनले गाउँपालिकाभित्रै गहुँको बीउ उत्पादन गर्न वडा नं ५ अर्मनको पीपलबोटमा २०० केजी अनुदानमा उपलब्ध गराइएको बताए ।

गाउँपालिकालाई अन्नबालीमा आत्मनिर्भर बनाउँदै निर्यात गर्ने लक्ष्यअनुसार अगाडि बढेको अध्यक्ष रोकाको भनाइ छ । तिहारलगत्तै पाँचवटै वडामा इच्छुकलाई बीउ वितरण गर्न जनप्रतिनिधि र अगुवा कृषकलाई जानकारी गराइएको छ ।

गहुँ खेतीका लागि विज्ञहरुको सुझावमा गाउँपालिकाले मल, सिँचाइ, गोडमेलमा आधुनिक सीपको प्रयोग गरी दोब्बर उत्पादन बढाउन सकिने बताएपछि किसानलाई बीउ वितरणकै अवस्थामा जानकारीसमेत गराउने गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिए ।

जिल्लामा आवश्यक मल, पर्याप्त सिँचाइलगायतको सन्तुलन मिलाउन नसक्दा गहुँको उत्पादनमा कमी हुने गरेको छ । गाउँपालिकाले सिन्दूरे, डढुवा जस्ता रोगको प्रतिरोधक हुने गौतम जातको गहुँ सिफारिश गरेकाले उत्पादन वृद्धि भएमा अर्को वर्ष गाउँपालिका भित्रका सबै कृषकलाई पुग्ने गरी अनुदानको व्यवस्था गर्ने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement