दुईतिहाई बहुमत रहेको दलका नेता भन्छन्– अब काँग्रेससहितको राष्ट्रिय सहमतिको सरकार चाहिन्छ

Advertisement

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले निर्वाचनको बेला जारी गरेको साझा घोषणापत्र दोहोर्याएर पढ्न प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएका छन् ।

बिहीबार साँझ रिपोर्टर्स क्लबको देउसी–भैलो कार्यक्रममा उनले भने, ‘तत्कालिन् एमाले र तत्कालिन् माओवादी केन्द्रले साझा घोषणापत्र जारी गरेर हामी निर्वाचनमा गयौं । घोषणापत्रमा उल्लेख भएका विषयहरु लागु नभएसम्म हामी सुखी र समृद्ध हुनै सक्दैनौं । घोषणापत्र दोहोर्याएर हेर्न आग्रह गर्दछु ।’

नेता गौतमले सरकार गठन भएको जम्मा ८ महिनामात्रै भएको बताउँदै यसका कामहरु हर्न बाँकी रहेको सुनाए । उनले भने, ‘अझै चार वर्ष चार महिना बाँकी छ । समृद्धि हाँसिल गर्न सक्यो कि सकेन ? भनेर अहिले भन्ने बेला होईन् ।’

उनले प्रधानमन्त्री ओलीले मात्रै नभए वर्तमान अर्थमन्त्रीले पनि साझा घोषणापत्रअनुसार आफ्ना नीति तथा कार्यक्रमहरु ल्याउनुपर्ने सुझाव दिए । गौतमले थपे, ‘निर्वाचनको बेला जारी भएको घोषणापत्र अब कार्यान्वयन हुनुपर्यो । नीति तथा कार्यक्रम पनि त्यहीअनुसार लागु हुनुपर्छ । बजेटपनि त्यही अनुसार आउनुपर्छ ।’

वरिष्ठ नेता माधव नेपाल र तपाईको प्रधानमन्त्री ओलीसँग असन्तुष्टि छ भन्ने कुरा आएको छ नि भनेर साधिएको प्रश्नमा उनले भने, ‘प्रधानमन्त्रीले राम्रो गर्नुभएन भनेर भनेको छैन । वर्तमान सरकारले जनताको अपेक्षा पूरा गरेन भनेर गुनासो छ । त्यही कुरा भनेको हो । अरु त्यस्तो केही पनि होईन ।’

गौतमले पटक पटक निर्वाचनमा जारी गरेको साझा घोषणापत्र पार्टीका हरेक केन्द्रीय सदस्यहरु, स्थायी समिति सदस्यहरु र सचिवालय सदस्यहरुले पढ्नुपर्ने पनि दोहोर्याए । उनले भने, ‘म फेरि दोहोर्याएर भन्छु, हामी सबैले अब घोषणापत्र पढ्नुपर्छ । प्रधानमन्त्री ओलीले त झनै दोहोर्याएर पढ्नुपर्यो । अध्यक्षदेखि पदाधिकारीले दोहोर्याएर पढ्नुपर्यो ।’

आफू र प्रधानमन्त्री ओलीबीच सम्बन्ध राम्रै रहेको पनि गौतमले जिकिर गरे । उनले थपे, ‘हामीबीचको सम्बन्ध राम्रै छ ।’ त्यस्तै उनले आफूले मलाई सांसद बनाउनुपर्यो भनेर कहिल्यै पनि पार्टीमा माग नराखेको स्पष्ट पारे ।

गौतमले थपे, ‘मलाई सांसद बनाउनुपर्यो भनेर माग छैन । मलाई दुई वटा अध्यक्षले तपाई प्रतिनिधि सभामा आउनुपर्छ भन्नुभयो । ओलीजीले मेरो सैद्धान्तिक अनुसार आउनुहुुन्न तर व्यवहारिक रुपमा आउनुपर्छ भन्नुभयो ।’

उनले पार्टीका केही केन्द्रीय सदस्यहरुले फेरि संसदमा आउने कुरालाई आदर्शविपरित भयो र पदलोलुपता देखायो भनेरसमेत आरोप लगाएको स्मरण गराए । गौतमले भने, ‘मैले पदको लोभ देखाएँ भनेर पनि पार्टीका नेताहरुबाट कुरा आयो । म एक व्यक्ति हुँ । एउटा व्यक्ति जाने हो । अरु त के नै हो र ?’

उनले आफूलाई पुनः संसदमा ल्याउनको लागि पार्टीको सचिवालय बैठकले चुनाव लडाउने भनेर सर्वसम्मतीले निर्णय गरेको पनि दाबी गरे । गौतमले भने, ‘अरु कुरा त उहाँहरुलाई सोध्दा थाहा हुन्छ । कतिसम्म गर्नुभएको हो भने निश्चित जित्ने निर्वाचन क्षेत्रमा तपाई जानुपर्छ भन्नुभएको हो । अनि निर्वाचित सदस्यले जिताउँछौं र जनताले पनि जिताउँछौं भन्नुभयो भने तपाई जानुपर्छ भनेर निर्णय भएको हो । यो फेरि सर्वसम्मत निर्णय भएको हो । सचिवालयमा सर्वसम्मती भएको हो । यसबारेमा कुनै विमति थिए । पछि विमति किन भयो मैले बुझ्न सकेको छैन् ।’

फरक प्रसँगमा उनले आफूलाई जिम्मा दिने हो भने पार्टी एकताको बाँकी सबै काम सम्पन्न गरेर देखाईदिने पनि उद्धघोष गरे । गौतमले भने, ‘तीन महिनाभित्र एकीकरण गरेर सम्पन्न गरिदिन्छु । त्यो पनि विवादरहित तरिकाले । मसँग कुशलता छ । यससम्बन्धी क्षमता छ । कहिलेकाहीँ एक्लो व्यक्तिको भूमिका पनि ठूलो र प्रभावकारी हुन्छ । मैले कम्युनिष्ट आन्दोलनमा यस सम्बन्धमा विशेषज्ञता हाँसिल गरेको छु । मैले निर्माण गरेका संगठनहरु फलेको छ । फुलेको छ ।’

नेता गौतमले पार्टीभित्रको गुट अन्त्य गर्ने दायित्व मुख्य जिम्मेवारीमा बसेको व्यक्तिको भएको भन्दै आफू यदि उक्त पदमा भएको भए सबै गुटको अन्त्य गरेर देखाईदिने बताए । उनले भने, ‘गुटबन्दी अन्त्य गर्छु । पार्टीमा होस् या अन्यत्र । तर, पार्टीको सदस्यको नाताले सबै गर्छु भन्ने हैसियत मसँग छैन ।

पार्टी एकतालाई तार्किक निश्कर्षमा पुर्याउनको लागि अब सरकारले जिम्मेवारीपूर्वक आफ्नो कदम चाल्नुपर्ने पनि गौतमको भनाई छ । उनले भने, ‘म भएको भए जेठ अन्तिमसम्म एकता गरिदिन्थें । एकतामा तुषारापात हुने हो कि ? एकता टिक्ने कि नटिक्ने ? लोकप्रिय हुने कि नहुने ? भन्ने कुरा अहिलेको सरकारको क्रियाकलपासँग हाम्रो पार्टीको भविष्य जोडिएको छ । सरकारले राम्रो काम गर्यो भने हाम्रो पार्टीको एकता पनि सुदृढ हुन्छ ।’

हिजो कुन गुटमा थिएँ वा कतातिर थिएँ भन्नुभन्दा पनि अब योग्यता र क्षमताका आधारमा एकता गरेर जाने हो भने राम्रो हुने गौतमको भनाई छ । तर, नेकपामा अहिले अध्यक्षद्धय ओली र प्रचण्डले जे भन्यो त्यही हुन्छ अरे नि ? भन्ने प्रश्नमा उनले भने, ‘कम्युनिष्ट पार्टी एकता गरें भने मेरो जीवनमा सबैभन्दा ठूलो सन्तुष्टि र सफलता प्राप्त हुन्छ भनेको थिएँ । संविधानसभाबाट संविधान जारी भयो । मुलुकमा गणतन्त्र आयो । अहिले मैले दुई पार्टीबीच एकता गराउन भूमिका खेलेको छु । अब यसलाई जोगाउने काम सबैको भूमिका हो ।’

गौतमले संविधानअनुसार निर्दिष्ट अबको लक्ष्य समाजवाद बनाउने हो भने भोलिदेखि नै काम सुरु गर्नुपर्ने पनि तर्क गरे । पार्टीभित्र कुनै अस्वस्थ प्रतिस्पधा नभएको पनि उनले जिकिर गरे । उनले थपे, ‘हामीबीच कुनै द्वन्द्ध छैन । र, अस्वस्थ प्रतिस्पर्धा पनि छैन् । तर, पार्टीभित्र अराजक तत्वहरु पनि छन् । म निर्वाचन लड्ने सवालमा सांसदलाई राजिनामा दिन लगायो । वामदेवले सांसद किन्यो भनेर केन्द्रिय सदस्यहरु भने । त्यतिमात्रै होइन, सचिवालय र स्थायी समितिका सदस्यहरुले पनि भने । पार्टी एकतासँगै केहीको अराजक भीडहरु पनि लागेका छन् ।’

नेता गौतमले आफू निर्वाचन लड्ने निर्णयबाट ब्याक नभएको पनि जिकिर गरे । उनले भने, ‘म चुनाव लड्ने निर्णयबाट ब्याक भएको होइन् । संसदमा जाने वा नजाने भन्ने पार्टीको निर्णय हो । तर, अब म कुनै नेतालाई मलाई सांसद बनाईदेउ भन्न जाँदिन् । घोषणापत्र कार्यान्वयनमा लाग्छु ।’

आगामी महाधिवेशनमा तपाईं अध्यक्षको लागि तयारी गर्दैहुनुहुन्छ अरे नि ? भनेर सोधेको अर्को प्रश्नमा उनले भने, ‘त्यो पछिको कुरा हो । मेरो संयोजनमा घोषणापत्र बनाएको हुँ । मैले नै यसको मस्यौदा गरेको हुँ । धेरै साथीहरु मिलेर यसको सम्पादनको काम गर्यौं । मैले धेरै बुद्धि लगाएको छु । कमजोरी छन् भने त्यसप्रति मेरो जवाफदेहिता छ ।’

अब सरकारले घोषणापत्रअनुसार काम गरेन भने आफू केही साथीहरुको साथ र सहयोग लिएर कार्यान्वयन गराउनतर्फ लागिपर्ने पनि गौतमले जनाए । फरक प्रसँगमा उनले आफूलाई पार्टीका नेताहरुले अन्तर्घात गरेर चुनाव हराएको पनि आरोप लगाए ।

उनले भने, ‘त्यो क्षेत्रमा म निर्वाचन हार्ने अंकगणित थिएन । स्थानीय निर्वाचनमा कांग्रेसको २४ हजार मत थियो । नेकपा माओवादीको २६ हजार र एमालेको ३० हजार । यत्तिको फराकिलो मत हुँदाहुँदै पनि चुनाव हार्न पुगें । यसमा ममाथि अन्तर्घात भएको कुरा प्रष्ट रुपमै देखियो । त्यहाँ चलखेल भएको छ । हाम्रो मत बिग्रियो ।’

उक्त निर्वाचनमा आफूविरुद्ध उम्मेद्धवारी दिएर विजयी बनेको कांग्रेस नेता सञ्जय गौतमको नाम नलिईकन उनले भने, ‘त्यहाँ पप्पु कन्ट्रक्शनलाई पुलको जिम्मा दिन पहल गर्ने कांग्रेसका नेता माननीय बने । बर्दियाको त्यो क्षेत्रमा जे जति काम भएका छन् त्यसमा सबै मेरो योगदान छ । यदि भएको छैन भने पनि त्यसमा मेरो दोष छ ।’

नेता गौतमले थपे, ‘चुनावताका मैले आफू प्रधानमन्त्रीको उम्मेद्धवार हुँ भनेकै हो । न्यायपूर्ण रुपमा जाने हो भने म प्रधानमन्त्रीको उम्मेद्धवार नै हो । यो कुरा त मैले धेरै पहिल्यैदेखि भन्दै आएको छु । त्यति भनेकोले मलाई त्यसको निम्ति सजाय दिनुपर्छ ? म प्रधानमन्त्रीको उम्मेद्धवार भनेर मैले के पाप गरें ? हो, त्यही कारणले मलाई चुनाव जित्नबाट रोकेको हो भने जसले गर्यो त्यो ठूलो पाप हो ।’

मुलुकमा विकास र समृद्धि हाँसिल गर्नको लागि हिजो परिवर्तनका आन्दोलनहरुमा सँगै लडेका राजनीतिक शक्तिहरुबीच आज पनि अनिवार्य एकता र सहकार्यको खाँचो रहेको उनले औंल्याए । गौतमले भने, ‘नेपालका सबै राजनीतिक दलहरु मिलाउन मैलेमात्रै सक्छु । अब १० वर्ष सत्ताधारी र प्रतिपक्षी दल सबैको हैसियतअनुसारको सरकार बनाउने हो । अब संसारभरिबाट लगानी ल्याउनुपर्छ । सबैले निर्माण गरेको नेपाल बनाउनुपर्छ । गणतन्त्र ल्याउने पार्टीहरु मिलेर देश निर्माण गर्यौं भनेर विश्वलाई सन्देश दिनुपर्छ ।’

उनले अब राष्ट्रिय सरकारको आवश्यकता रहेको औंल्याए । उनले भने, ‘राष्ट्रिय सहमतिको सरकार बनेपनि अब केपी र प्रचण्डकै नेतृत्वमा हुने हो । ओली, प्रचण्ड, देउवा, उपेन्द्र र महन्थको नेतृत्वमा हुन्छ । पालैपालो गरौं ।’

Advertisement

Advertisement

Advertisement