विदेशबाट फर्किएर कृषि र पशुपालनमा, श्रमिकको अभावमा खेती गर्ने घटे

Advertisement

दमौली । विदेशमा बगाएको पसिना स्वदेशमै बगाउन सके त्यहाँ जत्तिकै आम्दानी गर्न सकिने सोचका साथ तनहुँको भीमाद नगरपालिका–५ बुडुफाँटका कृष्णप्रसाद गैरे पाँच वर्ष अगाडि नेपाल फर्किए ।

छ वर्ष नौ महीना कतार बसेका गैरे विसं २०७० मा स्वदेश फर्किएर व्यावसायिक कृषि र पशुपालनमा आबद्ध भएका छन् । गैरेले तरकारीखेती र पशुपालनबाट वार्षिक रु सात लाखभन्दा बढी आम्दानी गरिरहेका छन् ।

‘विदेशमा काम गर्दा जति दुःख गरियो त्यति दुःख त स्वदेशमै गरेपनि आम्दानी गर्न सकिन्छ भन्ने लाग्यो,’ उनले भने, ‘अनि आफ्नै गाउँ आएर तरकारीखेती शुरु गरेँ ।’ तरकारीखेतीबाटै गैरेले वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।

तरकारीखेतीसँगै पशुपालनसमेत गर गैरेका गैरेले भैँसीको दूध बिक्रीबाट वार्षिक रु दुई लाखभन्दा बढी आम्दानी हुने गरेको बताए । उनका अनुसार दैनिक २० माना दूध बिक्री हुने गरेको छ । तरकारी र दूध बिक्रीका लागि बजारको कुनै समस्या नरहेको उनले बताए ।

युवा अभावमा धान काट्न समस्या

तनहुँको व्यास नगरपालिका–८ रिस्तीका पुरुषोत्तम रेग्मी गाउँमा युवा नहुँदा धान काट्न समस्या भएको प्रति चिन्तित छन् । गाउँमा काम गर्ने युवा नहुँदा भनेको दिनमा धान काट्न नपाएको र खेतमै धान झरेर जाने समस्या रहेको उनी बताउँछन् ।

युवाहरु वैदेशिक रोजगारीको सिलसिलामा विदेशिनु र गाउँमा अधिकांशको घरमा वृद्ध आमाबाबु मात्रै रहेका कारण धान काट्न समस्या भएको उनको भनाइ छ ।
सोही ठाउँकै रामप्रसाद मिश्रले समेत गाउँमा युवा नहुँदा धान काट्न समस्या भएको गुनासो गरे । “अधिकांश युवा वैदेशिक रोजगारका लागि विदेश र अध्ययनका लागि शहरबजार झरेपछि गाउँमा धान काट्न समस्या भएको हो”, उनले भने ।

धान रोपाइँको क्षेत्रफल घट्यो

तनहुँमा बाह्र हजार दुई सय पचास हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइरहेको छ । तनहुँमा यस वर्ष करीब दुई हेक्टर क्षेत्रफलमा धान रोपाइँ घटेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । जिल्लामा कृषिकर्म गर्ने युवा जनशक्तिको अभाव, वैदेशिक रोजगारी तथा बसाइसराइजस्ता कारणले ग्रामीण क्षेत्रमा खेतीयोग्य जमीन बाँझिने क्रम बढ्दै गएको कार्यालयले जनाएको छ ।

तनहुँको तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेफाँटलगायतका क्षेत्रहरु धानखेतीका लागि उपयुक्त फाँटका रूपमा लिइन्छ । यहाँका कृषकले सावित्री, मकवानपुरे, रामपुर, हर्दिनाथ, मन्सुलीलगायतका उन्नत जातका बीउ प्रयोग गरी धानखेती गर्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement