ट्याक्सी र जीप ठोक्किँदा तीन जनाको मृत्यु, दुई घाइते, जीपका चालक फरार

Advertisement

सिमरा । बाराको निजगढमा ट्याक्सी र जीप ठोक्किदा ट्याक्सीमा सवार तीन जनाको मृत्यु भएको छ । जीपमा सवार दुई जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत भमरा पुल नजिक शुक्रबार राती १ बजे उक्त दुर्घटना भएको हो ।

ग २ च २३२५ नम्बरको ट्याक्सी र बा २ ज २११७ नम्बरको जीप एकआपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेमा ट्याक्सीका चालक भक्तपुरका २८ वर्षीय समुन्द्र श्रेष्ठ, निजगढ नगरपालिका ७ का २५ वर्षीय आकाश माझी, सोही ठाउँका २५ वर्षीय विशाल माझी रहेका छन् ।

चालक समुन्द्रको हेटौडास्थित चुरेहिल अस्पतालमा तथा आकाश र विशालको निजगढस्थित स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो । जीपमा सवार २८ वर्षीय नरेश माझी र २१ वर्षीय अर्जुन माझी घाइते भएको र नरेशको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरु दुवैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्याक्सी निजगढस्थित माझी टोलबाट रौतहटको सिमरी पुगेर फर्किएको अवस्थामा चितवनबाट तरकारी बोकेर लालबन्दीतर्फ जाँदै गरेको बोलेरो जीप एकआपसमा जुधेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास बमका अनुसार बोलेरो जीपका चालक फरार छन्।

Advertisement

Advertisement

Advertisement