त्रिभुवन विमानस्थलमा पार्किङस्थल बढाइँदै, अब ९ होइन १३ ठूला जहाज पार्किङ गर्न सकिने

Advertisement

काठमाडौं । नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विस्फोटक पदार्थबाट जोगिन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुरक्षित जहाज पार्किङ निर्माण गरिएको जनाएको छ ।

विमानस्थलमा कुनै विस्फोटक पदार्थ भए खतराको संकेत मिल्ने र जहाजहरुलाई सुरक्षित स्थलमा सारेर सो ठाउँको चेकजाँच गर्न सकिने छ । प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्याप्त र सुरक्षित पार्किङस्थल नभएकाले थप सुरक्षित पार्किङ निर्माण गर्न लागिएको हो।

नयाँ पार्किङले खतराबाट जहाज र विमानस्थललाई सुरक्षित गर्न सहयोग पुग्ने छ । फागुन अन्तिमसम्ममा पार्किङ निर्माण सम्पन्न गरी ठूलो आकारका दुई वटा ३–३० जहाज र दुई वटा एटिआर ७२ जहाज पार्किङ गर्न मिल्ने व्यवस्था मिलाइने छ । कुल दुई सय १३ मीटर लम्बाई र ६५ मीटर चौडाइ रहेको यो पार्किङस्थल ४६ करोड लगानीमा निर्माण सुरु गरिएको हो ।

प्राधिकरणले छुट्टै ५९ करोड लगानीमा थप दुई वटा ३–३० को ठूलो जहाज पार्किङस्थलको पनि निर्माण सुरु गरेको छ । यी पार्किङस्थलहरु बनेपछि हाल नौ वटा मात्रै ठूला जहाज पार्किङ गर्न सकिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १३ वटा ठूला जहाज पार्किङ गर्न सकिने छ ।

पर्याप्त पार्किङ नहुँदा त्रिभुवन विमानस्थलले बारम्बार आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका जहाजहरुलाई आकाशमै होल्ड गर्ने गरेको छ । यी पार्किङस्थल बनेपछि उडान र अन्य अपरेसनमा सहजता हुने विश्वास प्राधिकरणको रहेको छ ।

Advertisement

Advertisement

Advertisement